जनता टाइम्स

५ श्रावण २०८२, सोमबार १४:१०

बिदा मनाउन अरू सहरतिर, वडाध्यक्ष सन्तोष पौडेल गल–गैँची र साबेल बोकेर सडकतिर 


रामेछाप, ५ साउन । असारे खर्च सकेपछि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू केही समय आरामा गर्न सहर तिर पस्छन् । तर रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेले भने गल, गैँची र साबेल बोकेर सडक तिर पस्नुहुन्छ ।

वडाध्यक्ष पौडेलको वडाध्यक्ष निर्वाचित भए देखिको नियमित तालिका नै भएको छ यो– असार, साउन र भदौ सडक मर्मत र सरसफाइमा जुट्ने । वर्षा लागेसँग बाढी पहिरोले बिगार्ने ग्रामीण कच्ची सडक मर्मतको लागि हरेक वर्ष वर्षाको समयमा वडाध्यक्ष पौडेल सहयोगीका साथमा श्रमदानमा जुट्नु हुन्छ । ‘यस पटक पनि बाढी पहिरोले ठाउँ ठाउँमा सडक बिगार्न लागेको छ, त्यसैले हामी त सडक खुलाउने काममा नै जुटेका छौँ’, उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकाम मन्थलीबाट सो गाउँपालिको केन्द्र धोबी हुँदै सैपु, ढाँडे तथा उमाकुण्ड गाउँपालिकाको भुजी र गुप्तेश्वरसम्म पुग्ने मुख्य सडकको रूपमा रहेको धोबी–सिरिसे ढाँडे तथा धोबी–दिलौरी–ढाँडे र धोबी–सैपु–दुरागाउँ सडक वर्षा लागेसँगै बाढी पहिरोले हरेक वर्ष बिग्रने गर्दछन् । बिग्रिएका सडक मर्मत गर्ने उपकरण र आवश्यक बजेट नहुँदा सडक मर्मतको लागि आफैँ दौडनु परेको पौडेलले बताउनुभयो ।

सडक बिग्रिएको ठाउँमा वडाका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सहयोगीको साथ लिएर सडक मर्मत गर्ने गरिएको पौडेलले बताउनुभयो । हरेक वर्ष वर्षा लागेपछि यसै गरी सडक मर्मत गरेर यातायात साधन चलाउने गरिएको उहाँले बताउनुभयो ।

‘विगतदेखि थालिहालियो, अहिले त सडक अवरुद्ध हुँदा पनि फोन आउँछ, अनि गल गैँची र साबेल बोकेर हिँड्यो, सबै मिलेर बाटो सफा गर्‍यो, सडक खुलायो, यातायात साधन पठायो, अहिले दैनिकी नै यस्तो बनेको छ’, उहाँले भन्नुभयो ।

पौडेलको यो कार्यले सबैभन्दा तलको सरकार र जताको घरदैलोमा भेटिने सरकारको अनुभूति स्थानीयले गरेका छन् ।