काठमाडौं, साउन ६ । सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा उहाँकै दल नेकपा एमालेका केन्द्रीय नेताहरू बाधक बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय समितिका अधिकांश नेताहरू पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नहुने अडानमा उभिएपछि पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा फर्कने चाहनामा लगभग पूर्णविराम लाग्ने अवस्था देखिएको छ ।
सचिवालय बैठकमा भण्डारीलाई रोक्न नहुनेमा कहीँ ठुलो आवाज आए पनि पोलिटब्युरो र केन्द्रीय समितिसम्म आइपुग्दा अत्यन्तै झिनो आवाज मात्र उठेको छ । पोलिटब्युरो बैठकमा हिक्मत कार्की, पार्वत गुरुङ, महेश बस्नेत, निरुदेवी पाल, डाक्टर राजेन्द्र रावल, ज्वालाकुमारी साह, गुलावजंग शाह, खीमलाल भट्टराईसहितका युवा नेताहरू पुन केपी ओली नै अध्यक्ष र पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने दह्रो अडान राखेपछि अधिकांश नेताहरू सोही लाइनमा उभिएका थिए ।
केन्द्रीय कमिटी बैठकमा त महिला नेतृहरू नै पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने भन्दै ओलीको विकल्प सोच्न नसकिने पक्षमा खुलेका छन् । अत्यन्तै झिनो मत देखिएपछि पूर्वराष्ट्रपति भण्डारीलाई घरमै गएर उचाल्ने नेताहरू समेत बिचको लाइन बोलेर आफ्नो फेस सेभिङ गरेका छन् । केन्द्रीय समिति बैठकमा युवा संघका इञ्चार्ज राजीव पहारी, साजिदा सिद्धिकी, सुनिता बराल, कोमल वली, मोहनमाया ढकालसहित अधिकांश नेताहरूले त यही बैठकबाट आगामी महाधिवेशनका अध्यक्ष केपी ओली नै हो भनेर किटान गरेर जानुपर्ने प्रस्ताव गर्नुभएको छ ।
केन्द्रीय समिति बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले आइतवार भएको भेटवार्तामा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको जानकारी दिनुभएको छ । अध्यक्ष ओलीले ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनु भएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ,’ भन्ने जानकारी गराउनु भएको थियो ।
‘बैठकमा बोलेको कुरा नै ठीक उल्टो बनाएर अफवाहका रुपमा फैलाउन थालियो । को हो त्यस्तो काम गर्ने ? जेल बसेको उमेर घटाउनुपर्छ भन्यो भन्नेको स्वार्थ के छ ? कस्ले भन्यो ? यस्तो आपराधिक काम कस्ले गरिरहेको छ ? बैठकमा बोल्दै नबोलेको कुरा प्रचार गरिएको भन्दै पोलिटब्यूरो सदस्य महेश बस्नेतले भन्नुभयो ।

अध्यक्ष ओलीले भेटको प्रस्ताव भण्डारीबाटै आएको भन्दै आफूबिरुद्ध को लागेको छ गलत प्रचार गर्न भन्ने प्रश्नसमेत उठाउनु भएको थियो भने चेतावनी पनि दिनुभएको छ । ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए’, बैठकमा ओलीको भनाई थियो ।
यस्तै अध्यक्ष ओलीले उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउन पर्छ भनेर अध्यक्ष भने भन्दै प्रचार गर्ने को हो भनेर खोजी गर्नुभएको छ । ‘पूर्वराष्ट्रपति भण्डारीले बालुवाटार जान मानेनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो । उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन,’ ओलीको चेतावनी थियो ।
अध्यक्ष ओलीले उमेर हद र बालुवाटारको विषयमा कथा बुनेर आफ्नो बदनाम गर्न लगाइएको भन्दै त्यो काम गर्नेको खोजी गर्नुभएको छ ।
‘बैठकमा बोलेको कुरा नै ठीक उल्टो बनाएर अफवाहका रुपमा फैलाउन थालियो । को हो त्यस्तो काम गर्ने ? जेल बसेको उमेर घटाउनुपर्छ भन्यो भन्नेको स्वार्थ के छ ? कस्ले भन्यो ? यस्तो आपराधिक काम कस्ले गरिरहेको छ ?’, बैठकमा बोल्दै नबोलेको कुरा प्रचार गरिएको भन्दै पोलिटब्यूरो सदस्य महेश बस्नेतले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्