काठमाडौं, ६ साउन । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बीपीप्रति श्रद्धा व्यक्त गर्दै नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा उहाँले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँले लेख्नुभएको छ —
‘नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा उहाँको भूमिकाको स्मरण गर्दछु । आदरणीय बीपी कोइरालाप्रति उच्च सम्मान !’
बीपी कोइरालाको योगदानको स्मरण सत्तारुढ दल नेकपा (एमाले)का शीर्ष नेताबाट सार्वजनिक रूपमा गरिएको यो अभिव्यक्ति राजनीतिक तहमा अन्तरपार्टी र बिपी प्रति सम्मानको दृष्टान्तका रूपमा लिइएको छ। यस्ता अभिव्यक्तिहरू नेपालका शीर्ष नेताहरूबीच ऐतिहासिक मूल्य र सैद्धान्तिक आदानप्रदानलाई जीवन्त राख्न महत्वपूर्ण मानिन्छ।
ओलीले पछिल्ला वर्षहरूमा बीपी कोइरालाको विचार, योगदान र साहित्यिक पक्षको समेत चर्चा गर्दै आउने गरेको पाइएको छ। लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको विषयमा बीपीको दृष्टिकोणलाई ओलीले सकारात्मक रूपमै ब्याख्या गर्दै आउनु भएकाे छ ।
यता नेपाली कांग्रेसले आज देशभरका पार्टी कार्यालय, बीपी संग्रहालय र विभिन्न सार्वजनिक स्थानमा श्रद्धाञ्जलिसभा, विचार गोष्ठी, साहित्यिक कार्यक्रम तथा रक्तदानजस्ता कार्यक्रम गरी स्मृति दिवस मनाइरहेको छ।
बीपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ मा भएको थियो भने उहाँको निधन वि.सं. २०३९ सालमा भएको हो। नेपालको लोकतान्त्रिक इतिहासमा उहाँले राखेको वैचारिक र व्यावहारिक योगदानलाई देशका विभिन्न राजनीतिक धारहरूबाट स्वीकार गरिँदै आएको छ।












प्रतिक्रिया दिनुहोस्