जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार २१:१३

एमाले केन्द्रीय कमिटी बैठक १८० सदस्यले राखे धारणा, विधान संशोधनको २६४ सवाल सङ्कलन 


काठमाडौं, ६ साउन । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नु भएको छ ।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ । उहाँहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उहाँहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको छ । तीन वटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बैठकका सहभागी एक नेताले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २ सय ६४ वटा सवाल सङ्कलन गरिएको छ । त्यसका आधारमा पार्टीले धारणा बनाउने छ र विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर छलफल पछि पास गरिने छ ।

हिजो र आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानु पर्ने बताउनुभएको छ । उहाँहरूले त्यसको लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा उहाँहरूले राख्नु भएको छ ।