जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार २३:२४

मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने, अन्य रोगीलाई पनि एक लाख रुपैँयासम्म उपचार खर्च 


काठमाडौं, ६ साउन । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले असाध्य रोगीहरूका लागि सरकारले उपचार सहायता रकम वृद्धि गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै मिर्गौला रोगीका लागि सरकारबाट ८ लाख ५० हजार रुपैयाँसम्म उपचार सहयोग उपलब्ध हुने निर्णय भएको उल्लेख गर्नुभएको छ । ‘मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको छ, यसले असाध्य रोग लागेका बिरामीको उपचारमा राहत पुग्ने सरकारको विश्वास छ’, उहाँले लेख्नु भएको छ ।

सरकारको यो निर्णयअनुसार क्यान्सर, मुटु रोग, टाउको तथा मेरुदण्ड (हेड इन्जुरी र स्पाइनल इन्जुरी) को चोट, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर जस्ता दीर्घ र गम्भीर रोग लागेका बिरामीलाई १ लाख रुपैयाँसम्मको उपचार खर्च दिइने छ ।

प्रधानमन्त्री ओलीका अनुसार असाध्य र दीर्घकालीन रोगको उपचार गर्न नसक्ने कमजोर आर्थिक अवस्थाका नागरिकलाई लक्षित गर्दै यो सहायता कार्यक्रम अघि बढाइएको हो । सरकारको यो कदमले विशेष गरी निम्न आय वर्गका बिरामी र परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ । यो सेवा लिन स्वास्थ्य बिमामा भने आबद्ध भएको हुनु पर्ने प्रधानमन्त्रीले जानकारी  दिनुभएको छ ।

असाध्य रोगमा सरकारी सहयोग विस्तारको यो निर्णयले नागरिकको स्वास्थ्य प्रति राज्यको संवेदनशीलता देखिएको छ ।