रामेछाप, ७ साउन। नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस बुधबार रामेछापमा श्रद्धापूर्वक मनाइएको छ। ‘तीनलालको जिल्ला’ भनेर चिनिने रामेछापमा पुष्पलालसहित गङ्गालाल र कृष्णलालको सालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो।
पुष्पलाल, गङ्गालाल र कृष्णलालको स्मृतिमा निर्मित मन्थलीस्थित ‘तीनलाल पार्क’ मा नेकपा एमाले रामेछापले बिहान माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा एमाले प्रदेश कमिटी, जिल्ला कमिटी, वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा, विभिन्न जनसंगठनका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार स्मृति दिवसकै अवसरमा आज दिउँसो पुष्पलालको जन्मथलो रामेछाप नगरपालिका–८, भँगेरीमा विशेष कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रम नेकपा एमाले रामेछाप र जनसांस्कृतिक महासंघ बागमती प्रदेश कमिटीको संयुक्त आयोजनामा हुनेछ।
नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो। नेपालको सामाजिक रूपान्तरण, वर्गहीन समाज निर्माण र मजदुर–किसानको नेतृत्वमा राज्य निर्माणको सपना बोकेर उहाँले २००६ साल वैशाख १० गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।
श्यामबजारमा बसेको गोप्य बैठकमा पुष्पलालसँगै नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठजस्ता अग्रगामी नेताहरूको सहभागितामा नेकपा स्थापना भएको थियो। सोही पार्टीले पछि देशको राजनीतिक मोड परिवर्तन गर्ने ऐतिहासिक यात्रा तय गर्यो।
पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतको गोविन्द वल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो। निधन भए पनि उनका विचार र योगदानहरू आज पनि नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा प्रेरणाका स्रोत बनेका छन्।

रामेछापलाई ‘तीनलालको जिल्ला’ भनिनुमा ऐतिहासिक पृष्ठभूमि रहेको छ। नेपाली प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ, साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी र कम्युनिष्ट आन्दोलनका जनक पुष्पलाल श्रेष्ठ(यी तीन विभूतिको जन्म यही जिल्लामा भएको हो। यिनै स्मृतिलाई कायम राख्न तीनै व्यक्तित्वको सालिक निर्माण गरिएको ‘तीनलाल पार्क’ अहिले राष्ट्रिय स्मारकका रूपमा विकास हुँदै गएको छ। उक्त स्थानमा विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक कार्यक्रम हुँदै आएका छन्।
पुष्पलालको जन्मथलो भँगेरीमा पुष्पलाल पार्क निर्माणको काम अघि बढेको छ । तर सो काम लामो समयदेखि अलपत्र छ । यस वर्ष त्यसको लागि सरकारले केही बजेट विनियोजन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्