काठमाडौं, ७ साउन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।
यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ऋणपत्रको बोलकबोल हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने कार्यालयले जनाएको छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड रुपैयाँ र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
सरकारले चालु आवमा तीन खर्ब ६२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
यसरी उठाइदैछ, आन्तरिक ऋण
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा एक खर्ब १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।
कार्यतालिका अनुसार कार्यालयले १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ ।
यस्तै, पाँच वर्षे दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।
यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत २५ अर्ब रुपैयाँ तथा विकास ऋणपत्र मार्फत ६० अर्ब रुपैयाँ उठाइनेछ । यस अवधिमा पाँच अर्ब रुपैयाँ बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँच वटा ट्रेजरी बिल बिक्री गरिनेछ ।
यस्तै, १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र बिक्री गरिनेछ । कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा एक खर्ब नौ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । यस समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब रुपैयाँ तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब रुपैयाँ उठाइनेछ ।
यस्तै, पाँच वर्षे अवधिको दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । यस अवधिमा पाँच अर्ब रुपैयाँ बराबरका ११ वटा ट्रेजरी बिलमार्फत ५५ उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ चार खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब रुपैयाँ, बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब रुपैयाँ र अनुदानबाट ५३ अर्ब रुपैयाँ जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, ट्रेजरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।













प्रतिक्रिया दिनुहोस्