जनता टाइम्स

७ श्रावण २०८२, बुधबार १८:२४

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याए एमाले बिगार्नेको चाहना असफल भयो : डा. राजन भट्टराई 


रामेछाप,७ साउन । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले एमाले बिग्रियोस् र भत्कियोस् भन्नेको चाहना असफल भएको बताउनुभएको छ ।

पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा बुधबार नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापन तथा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघको आयोजनामा भएको  ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले भत्काउने चाहन केन्द्रीय कमिटी बैठकले असफल बनाएको बताउनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पार्टी केन्द्रीय कमिटीले स्पष्ट निर्णय गरेकाे उहाँले बताउनुभयाे। ‘एमाले बिग्रियोस् र भत्कियोस् भन्ने तत्त्वलाई हिजोको केन्द्रीय कमिटी बैठकले असफल तुल्याइदिएको छ’, उहाँले भन्नुभयो ।

विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमामय भूमिका निर्वाह गरेको बताउँदै उहाँले एमालेले भण्डारीको योगदानको उच्च सम्मान गरेको बताउनुभयो । भण्डारीले व्यक्तिगत रूपमा पार्टी राजनीतिमा आउने, पार्टी अध्यक्ष बन्ने र प्रधानमन्त्री बन्ने धारणा सार्वजनिक गरेपछि पार्टी केन्द्रीय कमिटी बैठकले उहाँ पुन राजनीतिमा फर्कँदा राष्ट्रपतिको गरिमामा आँच आउने भएकोले राजनीतिमा फर्कन नहुने निर्णय गरेको भट्टराईले स्पष्ट पार्नुभयो । ‘सम्मान र गरिमामय पदमा पुगेको व्यक्ति फेरी पार्टी राजनीतिमा फर्कँदा संवेदनशील विषयमा समेत प्रभाव पर्ने भएकोले उहाँले पुनः राजनीतिमा आउने कुरा उचित हुँदैन भन्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ’, उहाँले भन्नुभयो ।

पुष्पलालले २००६ सालमा कम्युनिष्ट पार्टी गठन नगर्नुभएको भए आज नेकपा एमाले र कम्युनिष्ट पार्टीका कार्यकर्ता हुने अवस्था नै नबन्ने उहाँले बताउनुभयो । संसार भरी कम्युनिष्ट आन्दोलन प्रतिकूलतका बिच अघि बढिरहेको अवस्थामा पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको बिउ रोप्नु भएको भट्टराईले बताउनुभयो ।

पुष्पलालई नेपालको राजनीतिको अगुवाई गर्नुभएको भट्टराईले बताउनुभयो । त्यतिबेलाको उहाँको राजनीतिक चेतना अदम्य भएको उहाँले स्पष्ट पार्नुभयो । गंगालाल र पुष्पलालको त्यसबेलाको समाज परिवर्तनको बिचार आज पनि त्यतिकै सान्दार्भिक भएको उहाँको धारणा छ । ‘यस्ता अग्रगामी विचार भएका व्यक्तित्वहरुको जन्मभूमिलाई हामीले सम्मान गर्न सक्नु पर्छ, विकास गर्नुपर्छ, त्यस्ता सपुतहरुलाई हामीले सम्झन सक्नु पर्छ’, उहाँले भन्नुभयो ।

बिपी र पुष्पलालमा कतिपय वैचारिक भिन्नता भए पनि मुलुकलाई विकासको बाटोमा अघि बढाउने, स्वतन्त्रताको पक्षमा लागिरहने कुरामा उहाँहरु बिच एकमता रहेको भट्टराईले स्पष्ट पार्नुभयो । उहाँहरु जस्ता सपुतहरुलाई बिर्सियो भने आउने पुस्ताले अहिलेको पुस्तालाई राम्रो नभन्ने उहाँको धारणा छ । उहाँले पुष्पलालको जन्मथलोको विकासको लागि आफूले भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमाले र नेपाली कांग्रेसले राजनीतिक स्थिरताको लागि सत्ता सहकार्य गरेकाे बताउँदै भट्टराईले  एक वर्षको सहकार्यले देशले सकारात्मक उपलब्धि प्राप्त गरेको बताउनुभयो । ‘मुलुकलाई हामीले मिलेर अगाडि बढाउने प्रतिबद्धता गरेको छौँ, जसले जे जस्तो हल्ला गरे पनि दुई वर्ष दुई दल यसै गरी जाने छन्’, उहाँले भन्नुभयो ।

भट्टराईले एमाले अब विधान महाधिवेशनमा केन्द्रित भएको बताउँदै पार्टीको विधान माथिको छलफलमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।