जनता टाइम्स

९ श्रावण २०८२, शुक्रबार ११:३९

कांग्रेस पदाधिकारी बैठक : मन्त्री फेरबदलबारे कुनै छलफल भएन 


काठमाडौं, साउन १० । नेपाली कांग्रेसको पदाधिकारी तथा मन्त्रीहरू सहभागी बैठक सम्पन्न भएको छ।

बैठकमा हालको राजनीतिक परिवेश, पार्टीभित्रको एकता तथा समसामयिक विषयमा सामान्य छलफल भए पनि मन्त्री फेरबदल वा उपनिर्वाचनको उम्मेदवार चयनजस्ता विषय उठान नभएको कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताउनुभयो। ‘आएका सूचनाबारे सामान्य समीक्षा मात्रै भयो, बस्तुगत परिस्थितिको विश्लेषण बाहेक अन्य केही भएन,’ केसीले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो।

उहाँले उपनिर्वाचनको  उम्मेदवारका सन्दर्भमा पनि कुनै औपचारिक छलफल नभएको स्पष्ट पार्नुभयो। ‘त्यस बारेमा कुरै उठेन’, उहाँले भन्नुभयो ।

पार्टी एकताका सवालमा बैठक केन्द्रित रहेको उल्लेख गर्दै उहाँले कांग्रेसलाई कसरी संगठित र सुदृढ बनाउने भन्नेमा गम्भीर विचार–विमर्श भएको जानकारी दिनुभयो।

भूमि सम्बन्धी विधेयकबारे कांग्रेसको धारणा स्पष्ट रहेको भन्दै नेता केसीले त्यसमा आवश्यक छलफल  गरेर टुङ्ग्याउनु पर्ने बताउनुभयो । जग्गाका हदबन्दी लगायत प्राविधिक विषयमा समितिमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयबाट विधेयक फिर्ता गरिएको विषय सकारात्मक नै रहेको उहाँले बताउनुभयो । त्यसमा पुनः गम्भीर छलफल गरेर टुङ्गोमा पुगिने केसीले जानकारी  दिनुभयो ।

कुलिङ पिरियडको विषयमा सांसदहरूले आफ्नो व्यक्तिगत धारणा राख्न सक्ने भए पनि एक सांसदले दलको निर्णय विपरीत स‌ंसदीय दलको निर्णय भन्दै प्रस्ताव ल्याएकोप्रति कांग्रेसको आपत्ति रहेको जानकारी  केसीले दिनुभयो । ‘सरकारले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ’, उहाँले भन्नुभयो ।

केसीका अनुसार बैठकमा मन्त्री फेरबदल, सत्ता समीकरण जस्ता संवेदनशील विषयमा कुनै निर्णय वा गहन छलफल भएको छैन।  त्यस विषयमा कुनै छलफल नै भएन’, उहाँले भन्नुभयो ।