काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसका सुख्खाग्रस्त क्षेत्रहरूको हवाई अवलोकन गर्नुभएको छ। सरकारद्वारा मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको केही दिनपछि प्रधानमन्त्री ओलीले सम्बन्धित क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकन गर्नुभएको हो।
साउन ७ गते मन्त्रिपरिषद्को बैठकले मधेसभरि फैलिएको खडेरी र रोपाइँ प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेको थियो। त्यसपछि समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको थियो।
प्रधानमन्त्री ओली आज महोत्तरी र बाराका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ भने किसानहरूसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ। हवाई निरीक्षणका केही तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘सुख्खाग्रस्त क्षेत्रको अवस्था हेर्दै छु, केही बेरमा यहाँका किसानहरूसँग भेट हुँदैछ, किसानहरूको राहतका लागि सरकारले केही दिनअघि नै विशेष निर्णय गरिसकेको छ।’
प्रधानमन्त्रीको अवलोकनसँगै खडेरी प्रभावित क्षेत्रमा राहत र दीर्घकालीन समाधानका लागि थप सरकारी कदम चालिने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्