जनता टाइम्स

९ श्रावण २०८२, शुक्रबार १३:४१

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन मिल्दैन भन्ने पार्टी निर्णय सही छ : पद्मा अर्याल


सरकारले महत्वपूर्ण उपलव्धि हासिल गरेको छः पद्मा अर्याल
बुटवल, साउन ९ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले सरकारले गरेका काम र प्राप्त उपलव्धिहरुलाई जनतामाझ लैजान पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।

एमाले नेतृत्वको गठबन्धन सरकारले मुलुकको असहज परिस्थितिका बाबजुद पनि विकास निर्माणका सवालमा महत्वपूर्ण उपलव्धि हासिल गरेको तर मुलुकमा केही भएन भनेर निराशा र तथ्यहीन तर्क गरेर गलत भाष्य सिर्जना गर्न खोजिएको भन्दै उहाँले भएका विकास निर्माणका कामलाई जनतामाझ लैजान आग्रह गर्नुभएको हो ।

नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापनसम्वन्धी सञ्चालन गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा बोल्दै सचिव अर्यालले यस्तो बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरु आन्दोलनमा रहेको स्मरण गर्दै उहाँले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

´यो मात्र होइन नेपालमा सुरुङ मार्ग असम्भव छ भन्नेहरुलाई सरकारले सम्भव बनाएर देखाएको छ, काँग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ,´उहाँले भन्नुभयो, ´सबै आर्थिक सूचकहरु बढेका छन्, यी महत्वपूर्ण उपलव्धि हुन् ।´

सामाजिक अराजकता मुलुकमा व्याप्त निराशाको प्रमुख कारण रहेको जिकिर गर्दै एमाले सचिव अर्यालले निराशालाई चिर्न कार्यकर्ताले आम जनतामा उत्साह भर्न सक्नुपर्ने बताउनुभयो ।

पार्टीमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको र अव यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा नअलमलिन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

`उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोंचीविचारी हटाइएको हो, यो व्यवस्था यसअघि नै निष्क्रिय भैसकेको थियो,´सचिव अर्यालले भन्नुभयो ।

त्यस्तै मुलुकको अभिभावक भैसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महसुस गरेर पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको पनि अर्यालको भनाई छ ।

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र अनुशासन र सुशासन महत्वपूर्ण विषय भएकाले यसतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई एउटै विधि र तरिकाले सञ्चालन गर्न सकियोस् भनेर प्रशिक्षण आयोजना गरिएको बताउनु भयो ।

समापनका अवसरमा बोल्दै एमाले प्रदेश उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोज प्रसाद श्रेष्ठले एमालेले लिएका नीति, कार्यक्रम र योजना कार्यान्वयनका लागि सबै कमिटी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । तीनदिने प्रशिक्षणको पहिलो दिन प्रदेश कमिटी सदस्य युवराज घिमिरेले बैठक सञ्चालन र माइन्युट लेखन र दलवहादुर गुरुङ्ले तालिम व्यवस्थापनवारे सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै दोश्रो दिन पार्टी गतिविधिको प्रचार शैली र प्रचारका माध्यम विषयमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डी.आर. घिमिरे, जन संगठन सञ्चालनमा पार्टीको दायित्व विषयमा प्रदेश कमिटी सदस्य कल्पना थापा, पार्टी र विकास निर्माणमा पार्टी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै संगठन र पार्टी सञ्चालन विधिमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, अर्थ राजनीतिमा केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनालले सहजीकरण गर्नुभएको एमाले स्कुल विभाग सदस्य विक्रम खनालले जानकारी दिनुभयो ।

त्यस्तै योजना र छनौट विधिमा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्याल, माक्र्सवाद र जनताको वहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सामयिक राजनीति र भोलिको एमाले विषयमा केन्द्रीय सचिव एवं इन्चार्ज पद्मा अर्यालले सहजीकरण गर्नुभएको थियो ।