जनता टाइम्स

९ श्रावण २०८२, शुक्रबार २०:१२

बागमतीका मुख्यमन्त्री लामाबिरुद्ध कांग्रेसकै सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव, चार मन्त्रीले दिए राजीनामा


हेटौँडा, साउन ९ । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले आफ्नै दलका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमती प्रदेश सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । सांसदहरूले मुख्यमन्त्री लामाले सहमति तोडेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन ।

शुक्रबार चार जना मन्त्रीले राजीनामा दिएपछि अविश्वासको प्रस्ताव राखेर मुख्यमन्त्रीलाई हटाउने निर्णायक कदम चालिएको हो । मुख्यमन्त्री विरुद्ध हस्ताक्षर भएपछि बागमतीमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिनुभएको हो ।

बहुमत सांसदहरूले ‘आधा–आधा कार्यकालको सहमति भए पनि मुख्यमन्त्रीले उलङ्घन गरेको र सभापति शेरबहादुर देउवाले राजीनामा दिन भने पनि नदिएको आरोप छ । सांसदहरूले केन्द्रीय सभापति देउवासँग छलफल भएरै आफूहरूले यो कदम उठाएका हुन । लामालाई हटाएपछि इन्द्र बानियाँलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउने उनीहरूको तयारी छ ।

बागमतीमा कांग्रेसका ३७ मध्ये बानियाँको पक्षमा २४ सांसद रहेका छन् । २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा लामाले ५ मतले बानियाँलाई पराजित गर्नुभएको थियो । लामाले २१ मत पाउँदा बानियाँले १६ ल्याउनु भएको थियो । अहिले लामा अल्पमतमा पर्नुभएको हो ।