काठमाडौं, साउन १० । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले दुई जना नेतालाई नै निलम्बन गरेको छ । युवा संघले केन्द्रीय सदस्य युवन्तिका राई र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको हो ।
निलम्नमा परेका दुवै जनाले पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई समर्थन गरेका कारण कारवाही गरिएको भन्दै आपत्ति जनाएका छन । युवा संघले भने कसैको पक्ष बिपक्षमा लागेको कारण नभई अनुशासनको कार्वाही गरिएको जनाएको छ ।
युवा संघका प्रवक्ता निरोज पौडेलले राई र खरेललाई राजनीतिक विषयमा कारवाही नभएको बताउनु भयो । लुम्बिनी प्रदेश अध्यक्ष खरेललाई अनुशासनहीन र अराजक गतिविधि गरेको कारण पटकपटक सचेत गराउँदा पनि नमानेपछि कारवाही भएको प्रवक्ता पौडेलले बताउनु भयो । अनुशासन र आर्थिक विषयमा भएको कारवाहीलाई विषयान्तर गर्न खोजिएको पौडेलले बताउनु भयो ।
प्रवक्ता पौडेलका अुसार खरेलमाथि राष्ट्रिय युवा संघको महाधिवेशनमा अध्यक्ष मण्डलका नेताहरुमाथि दुव्र्यवहार र अश्लील गालिगलौज गरेको तथा बुबा मेयर भएका आडमा आर्थिक अपराध तथा गुण्डागर्दी गरेको आरोप रहेको उहाँको भनाई छ । खरेलका बुबा ध्रुव खरेल रुपन्देहीको देवदह नगरपालिकाका मेयर हुनुहुन्छ ।
त्यस्तै इलामकी युवन्तिका राईलाई भने प्रधानमन्त्रीको नाम बेचेर सरकारी कोटामा विदेश पठाइदिने भनी विभिन्न व्यक्तिसँग पैसा उठाएको उजुरीका आधारमा निलम्बन गरिएको प्रवक्ता पौडेलले बताउनु भयो । प्रधानमन्त्रीको छोरी हुँ भन्दै युवन्तिकाले सरकारी कोटामा विदेश पठाउन पैसा लिएको उजुरी परेको र छानविनमा दोषी देखिएकोले कार्वाही गरिएको पौडेलले बताउनु भयो ।
युवा संघले दुवै जनालाई निलम्बन पत्रमै कारण खुलाएको प्रवक्ता पौडेलले बताउनु भयो । उहाँका अनुसार युवा संघका महासचिव महेश चौलागाईले हस्ताक्षर गरेको निलम्बन पत्रमा कागेश्वरी मनहरा नगरपालिकाका नोर्बु लामाको निवेदन र प्राप्त प्रमाणका आधारमा आर्थिक ठगी गरेको पाइएकाले सबै जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।
राईबिरुद्ध सरकारी कोटामा विदेश पठाउने भनी ३ लाख ५० हजार लिएको भन्दै शोभा राईले दिएको निवेदन दिएको संघले जनाएको छ । कारवाहीपछि युवन्तिकाले कडा प्रतिवाद गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, ‘म संसारको सर्वोच्च शिखर चढेर आएकी हुँ । मेरो लागि सानातिना चुनौती, षड्यन्त्र र तगाराका थुम्काहरू त केवल एक जम्पको दूरीमा छन । मेरो उचाइ मापन गर्न खोज्नेहरूले पहिले आफू कहाँ उभिएका छन भन्ने बुझुन ।’













प्रतिक्रिया दिनुहोस्