काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ ।
आइतबार पत्रकारसँग कुरा गर्दै सिटौलाले सरकारले सोचको जस्तो काम गर्न नसकेको भए पनि यो सरकारको विकल्प नभएको बताउनुभयो । ‘यो हङ पार्लियामेन्ट छ, कसैको बहुमत छैन, पहिला प्रचण्डजीले नछाडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, उहाँले छाडेपछि यो एउटा परिस्थितिमा बनेको सरकार हो, वर्ष दिन भयो, वर्ष दिनको मूल्याङ्कन गर्दा सोचे जस्तो काम हुन सकेको छैन, राजनीतिक दलहरूले र जनताले अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन, तर यो सरकार कन्टिन्यु जान्छ, किन भने यसको विकल्प अर्को सरकार बन्ने स्थिति छैन’, उहाँले भन्नुभयो ।
सिटौलाले अर्को सरकार बन्ने परिस्थिति नभएको उहाँले स्पष्ट पार्नुभयो । सम्झौता अनुसार सरकारको कार्यकाल पुरा हुने सिटौलाले जानकारी दिनुभयो । ‘सरकार सम्झौता बमोजिम जान्छ, किनकि यसको विकल्प छैन अर्को’, सिटौलाले भन्नुभयो ।
संविधान संशोधक गर्ने सहमति सहितको यो सरकार बनेकोले सरकारले त्यसको लागि समिति बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कांग्रेसले पनि त्यसको लागि समिति बनाउने उहाँले बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस पार्टीको महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुने बताउनुभयो । सिटौलाले २०८३ दशैँअघि वा दशैँ पछि महाधिवेशन नहुने जानकारी दिनुभयो ।
उहाँले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताउनु भयो । विगतमा पनि ५ वर्षमा नै कांग्रेसको महाधिवेशन हुने गरेको उहाँले उदाहरण दिनुभयो । ‘४ वर्षमा कहिल्यै भएको छैन’, उहाँले भन्नुभयो ।
उहाँले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताउनुभयो । अब प्रतिनिधि सभाले फेरी छलफल गरेर राष्ट्रिय सभामा पठाउने र त्यस पछि राष्ट्रपतिकोमा जाने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभाले निजामती कर्मचारी ऐनमा कुलिङ पिरियड हटाइएको विषयमा छानबिन समिति नै बनाएकोले त्यसको प्रतिवेदन आएपछि सबै कुरा प्रष्ट हुने उहाँले बताउनुभयो । राष्ट्रिय सभामा पनि सो विषयमा छलफल हुने उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय सभाले भरसक सर्वसम्मत नभए बहुमतले निर्णय गर्ने उहाँले बताउनुभयो । त्यसको अन्तिम निर्णय भने प्रतिनिधि सभाले नै गर्ने सिटौलाले जानकारी दिनुभयो । ‘प्रतिनिधि सभामा उत्पत्ति भएको विधेयक उसैले फाइनल गर्छ, त्यही फाइनल भएको विधेयक राष्ट्रपतिकोमा जान्छ’, उहाँले भन्नुभयो ।
वाग्मती प्रदेश सरकारको विवाद पार्टीको प्रदेश संसदीय दलले मिलाउने बताउनुभयो । भरसक मिलेर जानु जाति भएको बताउँदै उहाँले नमिले प्रक्रियाबाट टुङ्गिने बताउनुभयो । यो बेलमा मिलेर जानु राम्रो हुने बताउँदै प्रक्रियामा जाँदा कांग्रेसलाई केही क्षति हुने सिटौलाको बुझाइ छ । ‘मलाई लाग्छ सभापतिजीले बाेलाएर मिलाइदिन जाति हाे, मेलमिलाप गर्नु जाति हाे’, उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्