काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिहाल्ने गरिएको गुनासो गर्नुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अधिनायकवाद के हो भन्ने कुरा गोलघरमा बसेकालाई बढी थाहा हुने बताउनुभयो । ‘लोकतन्त्र आइसकेपछि अब राजनीतिक लडाइँ गर्नुपर्ने आवश्यकता छैन । अब त सुधारका निम्ति सुझावका कुरा हुन्’ उहाँले भन्नुभयो , ‘अब कसैको इर्ष्या, कुण्ठा हुन्छ भने त्यो बेग्लै कुरा हो, अब कुनै लडाइँ होइन यहाँ ।’ उहाँले थप्नुभयो, ‘हुन त दिनैपिच्छे अब आफूलाई केही चित्त बुझेन भने अधिनायकवाद भो भनेर ‘।
अधिनायकवाद कस्तो हुन्छ, अधिनायकवादी शासनमा गिरफ्तारी भनेको के हो ? त्यतिबेला पिटाइ कस्तो खाइन्छ त्यो त हामी खाएकाहरूलाई थाहा छ ।’ उहाँले अधिनायकवाद के हो भन्ने कुरा अहिलेसम्म रहेका अघिल्लो पुस्तालाई बढी थाहा भएको बताउनुभयो। ‘कालकोठी कस्तो हुन्छ, गोलघर कस्तो हुन्छ त्यो बसेकालाई थाहा हुन्छ’ उहाँले भन्नुभयो , ‘नेल हत्कडी लगाएर हातखुट्टाहरू सुन्निएर, पाकेर, खिया लागेको फलामले घोटेर घाउ बनाएर नलिखुट्टाहरू पिपले भरिएर मानिस कसरी सुत्छ होला, कसरी बाँच्छ होला ? कसरी निदाउँछ होला? ती आफ्नै ठाउँमा छन् ।’
उहाँले देशमा लोकतन्त्र आएकोले अहिले सजिलो रहेको बताउनुभयो । ‘आज के छ र ? आज सजिलो छ, लोकतन्त्र आएको छ ।’ उहाँले भन्नुभयो , ‘अघिल्लो पुस्तालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु जसले हामीलाई संघर्षका निम्ति बाटो देखाउनुहुन्थ्यो, त्यही नेता हुनुहुन्थ्यो बीपी कोइराला ।’ बीपीले नेपालमा मात्र नभएर भारतमा समेत बाटो देखाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले त्यही भएर नेपालका समाजवादीहरूको यही भएर भारतको समाजवादीसँग भावनात्मक सम्बन्ध भएको दावी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्