जनता टाइम्स

११ श्रावण २०८२, आईतवार १४:५३

कांग्रेस नेतृत्वबारे कृष्ण सिटौला : हामी सात भाईको निर्णयले पार्टी र सभापति दुवैलाई फाइदा हुन्छ


काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारबारे नयाँ प्रस्ताव अगाडि सार्नुभएको छ ।

सात पूर्वपदाधिकारीको तर्फबाट पटक–पटक बैठक बस्दै आउनु भएका सिटौलाले आइतवार पत्रकार सम्मेलन गरी सात जना नेताभन्दा बाहिरबाट पनि सभापतिको उम्मेदवार प्रस्ताव गर्न सकिने जानकारी दिनुभयो । ‘परिस्थिति आएपछि निर्णय गर्छौं । हामी सात मध्येको कोही उठ्छौं, अथवा अरु कसैलाई समर्थन गर्नुपरे हामी मिलेरै समर्थन गर्छौं । के को आपत्ति छ र, के को हतार छ ?,’ पत्रकार सम्मेलनमा सिटौलाले भन्नुभयो ।

उहाँले आफूहरूले साझा निर्णय लिने जानकारी दिँदै त्यसले सवैलाई फाइदा हुने बताउनु भयो । ‘हामी सात जना नै बस्छौं, सल्लाह गर्छौं, सभापतिलाई भन्छौं । के बिग्रेको छ र ? यसले पार्टीलाई फाइदा गर्छ । सभापतिलाई पनि फाइदा हुन्छ,’ सिटौलाको भनाई थियो । उहाँले आफूबीचमा सहमति जुटाउन अप्ठ्यारो नभएको पनि बताउनु भयो ।

यसअघि आफूहरूमध्येबाटै सभापतिको नाम अगाडि सार्न यो समूहले सभापति शेरबहादुर देउवालाई दबाब दिएको थियो । तर, सभापतिमा सात भाइमध्ये सबै नेताको दाबेदारी नभएको सन्देश सिटौलाले दिनुभएको छ । सिटौलाले आफूले अहिलेसम्म सभापतिमा दाबेदारी नगरेको बताउनु भयो । ‘महाधिवेशनमा म के गर्छु भनेर पनि टुंगो लगाइकेको छैन । बोलाएरै तपाईंहरूलाई भन्छु । राष्ट्रिय सभामा आएको एक वर्ष भयो । रहर गरेर आएको पनि होइन । पार्टीमा आवश्यक सल्लाह गरेर मात्रै अघि बढछौं,’ सिटौलाले भन्नुभयो ।

उहाँले विभिन्न कालखण्डमा विशेष भूमिका रहेकाले सात नेता संगठित भएको जानकारी पनि दिनुभयो । ‘परिस्थितिले हाम्रो विशेष भूमिका रह्यो । पदमा बसेर वा नबसेर हामीले भूमिका खेलेका छौं । उपसभापति, महामन्त्री, संविधान निर्माण नेपालको प्रक्रियालाई यहाँसम्म ल्याउन हाम्रो नेतृत्वदायी भूमिका रहेको छ,’ सिटौलाले भन्नुभयो, ‘व्यवहार, संगठन परिचालन, पार्टी सरकारमा भूमिका रहेको छ । यही भूमिका र अनुभवले पनि पार्टीलाई फाइदा हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

पत्रकार सम्मेलनमा उहाँले सभापति शेबरहादुर देउवा साझा भएको र अब दाबेदारी नरहने भएकाले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भयो । ‘सभापतिले टोटल कांग्रेसलाई नेतृत्व गर्नुभएको छ । त्यसैले हिजो महाधिवेशनमा समर्थन गर्ने हामीहरूले समर्थन गर्नु नेचुरल कुरा नै हो । महाधिवेशन नजिक आउँदा उहाँको विचार पनि भेन्टिलेट होला । सबै पदाधिकारी, नेताहरूलाई मिलाए लानुपर्छ भन्नेमा छौं,’ पूर्वमहामन्त्री सिटौलाको भनाई छ ।

पछिल्लो समय कांग्रेसका पूर्वपदाधिकारीहरूमा उपसभापति भइसक्नु भएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, महामन्त्री भइसक्नु भएका सिटौला, डा. शशांक कोइराला र सहमहामन्त्री हुनुभएका डा. प्रकाशशरण महतले नियमित रुपमा छलफल गर्दै आउनु भएको छ ।

आलोपालो छलफल गर्दै आएका नेताहरूले आफूहरूमध्येबाटै सभापतिमा एक जनालाई अगाडि सार्न माग गर्दै आएका छन् । तर, आइतबार सञ्चारकर्मीलाई बोलाएर सिटौलाले ७ नेताभन्दा बाहिर जान पनि तयार रहेको प्रस्ट पार्नुभएको हो ।