जनता टाइम्स

११ श्रावण २०८२, आईतवार १५:२५

अहिले अधिनायकवाद भन्नेहरूलाई जेल र हत्कडी थाहा नहुन सक्छ : प्रधानमन्त्री


काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरूलाई पुरस्कृत गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कडायत, मिना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु १ लाख राशीसहित पुरस्कृत गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बिपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताउनुभयो । “अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यस बेला भोग्ने बिपीहरू र हामीहरूलाई थाहा छ । जेल हत्कडी र कालकोठरी भोग्नेहरूलाई थाहा  हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ । अघिल्लो पुस्ताका बिपी कोइरालाहरूले सङ्घर्षका लागि बाटो देखाउनुभएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजनीतिक परिवर्तनका लागि का‌ंग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन् । यी लडाइँमा बिपी प्रेरणाको मियो हुनुन्थ्यो । अब बिपी कोइराला र पुष्पलाल कुनै दल विशेषका नेता होइन, देशकै नेता हुन् ।’’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गर्नुभएका जननायक विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले राजनीति र साहित्यमा दिनुभएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।