जनता टाइम्स

११ श्रावण २०८२, आईतवार २०:१८

कम्युनिस्ट आन्दोलनको विश्वयात्रा र नेपाली सन्दर्भमा यसको प्रभाव


–प्रदीप कटुवाल– 

कम्युनिष्ट आन्दोलन संसारका विभिन्न देशहरूमा विभिन्न चरणबाट गुज्रिएको छ । कहिले यसले सत्ताको नेतृत्व सम्हालेको छ, कहिले दमन र षड्यन्त्रका सिकार बनेको छ । समय समयमा कम्युनिष्ट विचारधारालाई कमजोर पार्ने, भाँड्न खोज्ने, विकृत बनाउने प्रयासहरू भइरहे पनि सच्चा प्रतिवाद, सही सिद्धान्त र सांगठनिक अनुशासनका बलमा कम्युनिष्ट आन्दोलनले पुनः पुनः आफूलाई स्थापित गर्दै आएको छ।

सन् १९१७ को अक्टोबर क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनको उदय

विश्व कम्युनिस्ट आन्दोलनको केन्द्रबिन्दु सन् १९१७ को अक्टोबर क्रान्तिपछि रुस बन्यो। भ्लादिमिर लेनिनको नेतृत्वमा भएको त्यो क्रान्तिले श्रमिक वर्ग र उत्पीडित समुदायलाई संगठित शक्तिको रूपमा प्रस्तुत गर्‍यो ।

लेनिनको निधनपछि जोसेफ स्टालिनले नेतृत्व सम्हाल्दा दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा पार्टीभित्रको मतभेदलाई नियन्त्रणमा राख्दै सामूहिक नेतृत्वको अभ्यास गरे। सोही प्रक्रियामा सोभियत संघले ‘समाजवादी गणतन्त्रहरूको महासंघ’ निर्माण ग¥यो, जसले समस्त दुनियाँका कम्युनिस्ट आन्दोलनहरूलाई ऊर्जा र मार्गदर्शन दियो।

सोभियत संघको विघटन र कम्युनिस्टहरूको पुनर्विचार

सन् १९९१ मा सोभियत संघको विघटन भयो । तत्कालीन महासचिव तथा राष्ट्रपति मिखाइल गोर्बाचेभले ‘ग्लासनोस्ट’ र ‘पेरेस्त्रोइका’ नामक सुधार कार्यक्रम ल्याउँदै पार्टीभित्रको शक्ति सन्तुलन र जनमतको समीकरण बिगार्न थाले । सुधारको नाममा गरिएको त्यो हस्तक्षेपले समाजवादलाई कमजोर पार्‍यो र अन्ततः सोभियत संघको विघटन भयो । यो घटनालाई पुँजीवादी र साम्राज्यवादी शक्तिहरूले कम्युनिष्टहरूको असफलता भनेर प्रचार गरे।

त्यस घटनाले एकातर्फ आन्दोलनलाई कमजोर बनायो भने अर्कातर्फ आत्मसमीक्षा र वैचारिक पुनर्गठनको अवसर पनि बनाइदियो। नेपालजस्ता मुलुकका कम्युनिष्टहरूलाई त्यस घटनाबाट शिक्षित भएर आफ्नै सन्दर्भअनुसार वैचारिक आधार बलियो बनाउँदै अघि बढ्ने प्रेरणा मिल्यो ।

चीनको सांस्कृतिक क्रान्तिदेखि आर्थिक उदारीकरणसम्मको यात्रामा कम्युनिष्ट नेतृत्व

चीनमा पनि कम्युनिष्ट आन्दोलनको अनुभव विशिष्ट छ । सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता सम्हालेपछि समाजवादी निर्माणको यात्रा सुरु भयो । तर सन् १९६६ देखि १९७६ सम्म चलेको सांस्कृतिक क्रान्तिले चिनियाँ समाज र पार्टीलाई ठुलै झट्का दियो । ‘ग्याङ अफ फोर’ नाम दिइएको समूहले माओको नाममा पार्टीभित्र उथलपुथल मच्चायो ।

माओको निधनपछि देङ सियाओपिङले पार्टीको हरेक असफलता आत्मसमीक्षा गर्दै नयाँ ढङ्गबाट नेतृत्व सम्हाल्न थाल्दा चीनले आधुनिकीकरण बाटो समात्यो । उनले ‘समाजवादी बजार अर्थतन्त्र’को अवधारणा अघि सारे, जहाँ समाजवादको मूल उद्देश्य कायम रहँदै आर्थिक उत्पादनका साधनहरूमा निजी पुँजीको सीमित प्रयोग स्वीकृत गरियो । त्यसबाट चीनले अभूतपूर्व आर्थिक प्रगति गर्‍यो र आजको विश्व शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भयो।

आज ती देङकै समयका विचारलाई अङ्गीकार गर्ने नेताहरू नै राष्ट्रपतिको कुर्सीमा छन् । यदि देङ सियाओपिङको उदार, व्यावहारिक र दूरदर्शी नेतृत्व नआएको भए चीनको कम्युनिष्ट पार्टी सायद अस्तित्वमा पनि रहने थिएन ।

नेपालमा कम्युनिष्ट आन्दोलन र ‘जबज’ को योगदान

नेपालमा पनि कम्युनिष्ट आन्दोलन संसारका अन्य देशहरूका जस्तै संघर्षको बाटो हुँदै अघि बढेको हो । स्थापना कालदेखि नै नेपालका कम्युनिष्टहरू विचार, रणनीति र सांगठनिक एकताको बहसमा रुमल्लिए । नेपाली समाजको विशिष्टता, धार्मिक, जातीय, भौगोलिक र बहुदलीय व्यवस्थालाई ध्यानमा राख्दै एमाले नेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त प्रतिपादन गरे ।

यो सिद्धान्तले समाजवादको आधारभूत मूल्यलाई त्याग नगरी बहुदलीय प्रतिस्पर्धा, नागरिक स्वतन्त्रता र निर्वाचन प्रणालीलाई स्वीकार गरेर समाजवादमा पुग्ने वैकल्पिक मार्ग देखायो । जबजले मात्र नेपाली जनताको बहुलतावादी आकाङ्क्षा र क्रान्तिकारी परिवर्तनलाई सँगै जोड्न सक्ने सम्भावना देखाएको थियो । यो विशुद्ध नेपाली परिस्थितिमा जन्मिएको मौलिक सिद्धान्त हो, जसले पार्टीलाई सैद्धान्तिक स्पष्टता र व्यावहारिक मार्गदर्शन दियो ।

आन्तरिक विचलन र बाह्य हस्तक्षेप : खतरा र चुनौती

कम्युनिष्ट आन्दोलनहरू केवल बाह्य शक्तिका कारण कमजोर हुने होइनन्, अधिकतम अवस्थामा आन्तरिक विचलन, अनुशासनहीनता र वैचारिक अस्पष्टताको कारण पार्टीहरू कमजोर भएका उदाहरण छन्। मार्क्सका पालामा ब्लान्की र ट्रोट्स्की जस्ता चरमपन्थी विचारकहरूले संघर्षको नाममा व्यवहारिक राजनीतिलाई कमजोर बनाए । लेनिनका पालामा सुधारवादका नाममा क्रान्तिकारी मूलधारलाई चुनौती दिइयो । माओका पालामा ग्याङ अफ फोरले पार्टीलाई अविश्वसनीय बनाउने खतरा उत्पन्न गर्‍यो ।

नेपालमा पनि यही परिपाटी दोहोरिएको छ । कम्युनिस्ट एकताको नाममा देखावटी नारा लगाउने, तर व्यवहारमा पार्टी फुटाउने प्रवृत्तिहरू सक्रिय छन् । कहिले चीन विरोधी नारा, कहिले एमालेको विरोध गर्दै आत्मघाती निर्णयहरू गर्ने प्रवृत्तिहरू देखिन्छन् । यो वैचारिक विचलन होइन, सत्ता र पदको लोभले सिर्जिएको अव्यवहारिकता हो ।

अहिले पनि नेकपा (एमाले) भित्र विभिन्न प्रवृत्तिहरू सक्रिय छन् । कोही ‘जबज’ सिद्धान्तलाई कमजोर पार्ने षड्यन्त्रमा छन्, कोही अध्यक्ष केपी शर्मा ओलीलाई व्यक्तिगत रूपमा लक्षित गर्दै पार्टीलाई विभाजनको दिशामा लैजान खोजिरहेका छन् । यी प्रवृत्तिहरू समयमै नचिनिए पार्टीलाई दीर्घकालीन संकटमा पुर्‍याउन सक्छ ।

कम्युनिष्ट आन्दोलनमा संगठनात्मक अनुशासन र विचारको स्पष्टता अनिवार्य

कम्युनिष्ट आन्दोलन केवल नारामा होइन, वैचारिक स्पष्टता, सांगठनिक अनुशासन र सामूहिक नेतृत्वको अभ्यासमा बलियो हुन्छ ।  पार्टीभित्रको विवाद, छलफल वा बहस स्वाभाविक हो, तर त्यसले सांगठनिक एकता र कार्यशैलीलाई कमजोर बनाउन नहुने हो । आन्दोलनबिचमै विचलन ल्याउने, नेतृत्वविहीन शक्ति खेल्ने, कार्यक्षेत्रभन्दा बाहिर हस्तक्षेप गर्ने प्रवृत्ति आत्मघाती हुन्छ ।

नेपालका कम्युनिस्टहरूले ‘तेरो छालामा बिक्दिन, बरु छाती छेडियोस्’ भन्ने दृढ सोच बोकेका छन्, हामीले ‘हजार वर्ष लड्न तयार’ भन्ने आदर्श अङ्गीकार गरेका छौँ, तर त्यही आन्दोलनको नाममा अवसरवाद, पदलोलुपता र अनुशासनहीनता बढेमा आन्दोलन सुक्खा आदर्शमा सीमित हुने खतरा रहन्छ ।

एमालेको वर्तमान सशक्तता र भविष्यको बाटो

नेकपा (एमाले) आज पनि मुलुकको प्रमुख कम्युनिष्ट शक्ति हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी संगठित हुँदै अगाडि बढिरहेको छ । पार्टीभित्र विविध विचार र दृष्टिकोणहरू छन्, तर ती विचार बहस, छलफल र निर्णयमार्फत संस्थागत रूपमा अगाडि बढिरहेका छन् ।

एमाले सफल भएको कारण उसले सैद्धान्तिक स्पष्टता, व्यवहारिक कार्यदिशा र जनतासँगको सम्बन्धलाई सन्तुलनमा राखेको छ । जबजको सिद्धान्त, सांगठनिक अनुशासन र नेतृत्वको निरन्तरताले पार्टीलाई समयानुकूल बदलिन सक्ने लचिलो क्षमता दिएको छ ।

निष्कर्ष : चेतना, अनुशासन र वैचारिक दृढतामार्फत मात्र सफलता सम्भव

कम्युनिस्ट आन्दोलन कुनै एक देश वा व्यक्तिको विचार होइन । यो एक निरन्तर चलिरहेको चेतनाको शृङ्खला हो, जसले जनताको मुक्ति, समता र न्यायको पक्षमा बोल्छ । यो आन्दोलन सत्ताको लोभमा होइन, जनताको सेवा र राष्ट्रिय स्वाभिमानमा आधारित हुनुपर्छ ।

आजको जटिल अन्तर्राष्ट्रिय परिवेशमा, नेपाली कम्युनिष्टहरू अझ सजग, संगठित र विचारमा स्पष्ट हुन आवश्यक छ । पार्टीको नाममा गुट, स्वार्थ र व्यक्तिगत महत्त्वाकाङ्क्षाले होइन, विचार र नीति आधारित एकताले मात्र कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित हुन सक्छ ।

सही विचार, सही नीति, अनुशासित संगठन र जनसम्पर्कमा विश्वास राख्दै अघि बढ्ने हो भने नेकपा (एमाले) मात्र होइन, समग्र कम्युनिष्ट आन्दोलनले फेरि आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्छ । हामी अहिले त्यो यात्रामै छौँ । दृढतापूर्वक, विचारसंगत ढंगले अघि बढौँ ।