जनता टाइम्स

२५ असार २०८३, बिहीबार १३:३९

संबिधान संशोधन कार्यदलबाट बाहिरियो एमाले, गणतन्त्र ल्याउने सवै दल बाहिरिँदा राजावादी राप्रपा मात्रै साथमा


काठमाडौं, असार २६ । संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट नेकपा एमाले बाहिरिएको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीवार कार्यदलका संयोजक अशिम शाहलाई पत्रमार्फत कार्यदलबाट बाहिरिएको औपचारिक जानकारी दिनुभएको हो ।

शाह नेतृत्वको कार्यदलमा एमालेबाट डाक्टर भीष्म अधिकारी पठाइएको थियो । सुरूका दिनमा अधिकारी सहभागी भए पनि पछिल्लो समय सरकारको नियत खराव रहेको देखेर अनुपस्थित रहँदै आउनु भएको थियो । एमाले महासचिव पोखरेलले अनुपस्थित हुनुको कारण पनि शाहलाई पठाएको पत्रमा नै उल्लेख गर्नुभएको छ ।

‘वर्तमान संविधानका आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेकोमा त्यसविपरीत विषयहरू नै खल्बल्याउने उद्देश्य राखेर कार्यदल सहभागी रहेको हाम्रो पार्टी तत् तत् समयदेखि अनुपस्थित रहँदै आएको छ,’ महासचिव पोखरेलले लेख्नुभएको पत्रमा भनिएको छ, ‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु।’

कार्यदलले संविधानका कुन विषय संशोधन गर्ने, संविधानको संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको बताउँदै त्यसबारे एमालेले जबाफ माग गरेको थियो । ‘कार्यदलको काम कारबाही सुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयमा किटान नगरिएको, वर्तमान संविधानका आधारभुत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याइएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएका जस्ता कारणले तत् सम्बन्धमा सरकारको भूमिका स्पष्ट गर्न माग गर्नुभएको सर्वविदितै छ,’ पत्रमा भनिएको छ ।

एमाले बाहिरिएसँगै बिपक्षी पाँच दल संबिधान संशोधन प्रक्रियाबाट बाहिरिएका छन । यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू कार्यदलबाट बाहिरिसकेका छन । कार्यदलमा नेकपाबाट देवप्रसाद गुरूङ, जसपाबाट सुरेन्द्र झा, लोसपाबाट लक्ष्मणलाल कर्ण र राजमोबाट मनोज भट्ट सदस्य तोकिनुभएको थियो । कार्यदलमा अव राजावादी दल राप्रपा मात्र बाँकी रहेको छ ।