काठमाडाैं, साउन ११ । सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीहरूलाई नयाँ सोचसहित काम गर्न निर्देशन दिनुभएकाे छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रशासनलाई नागरिकमूखी, सेवाग्राहीमैत्री र परिणाममुखी बनाउनु पर्ने आवश्यकता औंल्याउनुभयाे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले मन्त्रालय भनेको सेवा प्रवाहको थलो भएको स्पष्ट गर्दै त्यसलाई कसैलाई दुःख दिने अड्डाको रूपमा बुझ्नु नहुने धारणा राख्नुभयाे। उहाँले भन्नुभयो, ‘मन्त्रालय भनेको यो कसैलाई दुःख दिने ठाउँ होइन, सेवाग्राहीलाई सहज बनाउने स्थान हो भन्नेमा कर्मचारीहरू स्पष्ट हुनु आवश्यक छ।’
सेवाग्राहीसँग प्रत्यक्ष रूपमा जोडिएका दैनिक प्रशासनिक कामहरू कर्मचारी स्वयंले सम्पादन गर्नुपर्ने भएकाले उनीहरूबाटै उत्तरदायित्वबोध र संवेदनशीलता अपेक्षित रहेको मुख्यमन्त्रीको भनाइ छ।
कार्यसम्पादन र नैतिकताका आधारमा मात्रै नेतृत्व सफल हुने भन्दै उहाँले पद र ओहोदाको आडमा काम नगर्ने प्रवृत्तिबाट जोगिन आग्रह गर्नुभयो। ‘मन्त्री र सचिव पद मात्रै हुन्, कार्यसम्पादन र नैतिकता नभए पदले मात्र अर्थ राख्दैन,’ उहाँले भन्नुभयो।

कार्यक्रमका क्रममा कतिपय कर्मचारीले कानुनअनुसार गर्न मिल्ने कामसमेत पन्छाएको गुनासो सुनिएको भन्दै मुख्यमन्त्रीले ती प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले भन्नुभयाे, ‘सेवाग्राहीको काम नियमसंगत रूपमा गर्न सकिने भए रोक्न पाइँदैन, काम गर्न नसकिने भए जिम्मेवारीबारे पुनरावलोकन गर्नुहोस्।’
मुख्यमन्त्री कँडेलले आफूलाई समेत ‘सेवक’ को हैसियतमा बुझेर काम गरिरहेको उल्लेख गर्दै कर्मचारीहरूमा पनि त्यस्तै मनोवृत्ति विकास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘तपाईँहरू जस्तै म पनि जिम्मेवारी सम्हालेपछि सेवक हुँ भन्ने आत्मबोधमा छु, तपाईँबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेको छु।’
कार्यक्रममा मन्त्रालयका सचिव डा. पुष्पराज शाहीले चालु आर्थिक वर्षमा मन्त्रालयमार्फत नागरिक घर बिमा, पत्रकार स्वास्थ्य बिमा, विपद् पीडितका लागि राहतलगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयको कूल प्रगति ७१ प्रतिशत रहेको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले सेवा प्रवाहमा थप पारदर्शिता, जबाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्