काठमाडौं, साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा अन्तर्राष्ट्रिय स्तरको नयाँ रंगशाला निर्माण गर्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति भएको छलफलमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री ओलीले हालको दशरथ रंगशालाको क्षमता अपर्याप्त भएकाले काठमाडौं उपत्यकाभित्रै कम्तीमा ५० हजार दर्शक अट्ने नयाँ रंगशालाको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक जग्गा र पूर्वाधार व्यवस्थापनमा सहकार्य गर्न सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयाे ।
छलफलका क्रममा सूर्यविनायक नगरपालिकाले वडा नं ८, जगातेस्थित पुरानो इँटा-टायल कारखानाको करिब २ सय रोपनी क्षेत्रफल रंगशाला निर्माणका लागि उपलब्ध गराउने प्रक्रिया अगाडि बढिरहेको जानकारी गराएको छ। सोही स्थानमा सुविधासम्पन्न, बहुउद्देश्यीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशाला बनाउने योजना रहेको जनाइएको छ।
छलफलमा नगरपालिकाका प्रमुख वासुुदेव थापा, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, सदस्य सुवर्ण श्रेष्ठ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतका पदाधिकारीहरु सहभागी हुुनुहुन्थ्यो । प्रधानमन्त्री ओली सूर्यबिनायककै बासिन्दा हुुनुहुन्छ ।
सरकारले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राख्दै पछिल्लो समय विभिन्न स्थानमा रंगशाला, प्रशिक्षण केन्द्र र खेल मैदान निर्माणमा चासो देखाउँदै आएको छ। भक्तपुरमा प्रस्तावित नयाँ रंगशाला निर्माणले काठमाडौं उपत्यकाको खेल पूर्वाधार अभाव हटाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्