जनता टाइम्स

१३ श्रावण २०८२, मंगलवार २०:४९

प्रचण्डको कारण गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा जरुरी : जनार्दन शर्मा


काठमाडौ, साउन १३ । नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टी गम्भीर संकटमा पुगेको खुलासा गर्नुभएको छ । शर्माले प्रचण्डको दुई बुँदे सहमतिका कारण गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै अघि बढनुपर्ने धारणा पनि राख्नुभएको छ ।

पार्टीबारे उठेको भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गर्दै शर्माले यस्तो ठोकुवा गर्नुभएको हो । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले प्रचण्डको भण्डाफोरसहित चार बुँदामा भ्रम र तथ्यहरू बुझ्न आग्रह गर्नुभएको छ ।

विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, साङ्गठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्य योजना तयार पार्न पार्टीको पुनर्गठन गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ । विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिवेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन पनि उहाँले अपिल गर्नुभएको छ ।

शर्माले गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठक पश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गर्न आग्रह गर्नुभएको छ । यसो हुँदा पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने उहाँको विश्वास छ ।

पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन समेत शर्माले आग्रह गर्नुभएको छ ।

’यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर सङ्कटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन,अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो,’ शर्माले भन्नुभएको छ, अर्थतन्त्रको पुनर्संरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले सङ्कटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ । आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ ।’