जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार ११:०९

मुख्यमन्त्री बहादुरसिंह लामालाई वाग्मतीमा नवनियुक्त मन्त्रीलाई शपथ नगराउन एमालेको सुझाव 


हेटौँडा, साउन १६ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नवनियुक्त मन्त्रीको शपथ तत्कालका नगराउन नेकपा एमालेले आग्रह गरेको छ ।

सत्ता साझेदार दल नेकपा एमालेले मुख्यमन्त्रीलाई शपथ नगराउन आग्रह गरेपछि मन्त्रीहरूको शपथ प्रक्रिया अनिश्चित बनेको छ । मुख्यमन्त्री लामाले बुधबार बिहान तीन जना मन्त्री नियुक्त गर्नु भएको थियो ।

मुख्यमन्त्री लामाले आज बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री, र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गर्नुभएको थियो। नियुक्तिपछि शपथको तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामासँग फोन संवाद गर्दै तत्काल शपथ नगराउन आग्रह गर्नुभएको हो।

प्रदेशको राजनीतिक अवस्था अहिले अत्यन्तै जटिल र अन्योलपूर्ण मोडमा रहेको हुँदा यस्तो संवेदनशील समयमा शपथ खुवाउँदा गलत सन्देश जान सक्ने भन्दै एमालेले यस्तो आग्रह गरेको हो। राजनीतिक सन्तुलन बिग्रन सक्ने जोखिम भएकाले तत्काल शपथ रोक्न  एमालेले सुझाव दिएको हो ।

मुख्यमन्त्री लामाले मंगलबार मात्र नेपाली कांग्रेसको बागमती संसदीय दलको नेताबाट विश्वास गुमाउनुभएको छ । त्यही विवादास्पद अवस्थाबिच मन्त्री नियुक्ति हुनु र त्यसको शपथ तयारी चलिरहँदा सत्ता साझेदार दलकै असहमति आउनुले सत्ता समीकरण थप अस्पष्ट बनेको छ।

मुख्यमन्त्री लामा हाल एमालेको समर्थनमा सरकारको नेतृत्व गरिरहनुभएको छ। तर पछिल्ला दिनहरूमा सत्ता गठबन्धनभित्रको विश्वास सङ्कट झन् चर्किँदै गएको सङ्केत यस्ता घटनाबाट देखिएको छ। एमालेले समर्थन फिर्ता लिने वा पुनः गठबन्धन समायोजन गर्नेबारे कुनै आधिकारिक निर्णय नगरे पनि वर्तमान परिस्थितिले बागमती प्रदेश सरकार पुनः अस्थिरतातर्फ उन्मुख भएको सङ्केत गरेको छ।