जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार १३:०६

दुई पटक राष्ट्रपति भइसकेकाे मान्छे फेरी सक्रिय राजनीतिमा आउने कुरा कल्पना गर्न सकिँदैन : शंकर पोखरेल 


काठमाडौं, १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नसकिने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) १२ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा बुधबार काठमाडौंमा आयोजना गरिने राजनीतिक परिसंवाद कार्यक्रम बोल्दै श्रमजीवी वर्गको राजनीतिक पहुँच स्थापनाका लागि ट्रेड युनियन आन्दाेलनलाई राजनीतिबाट अलग राख्न नमिल्ने बताउनुभयो । ‘ट्रेड युनियन आन्दोलन राजनीतिक प्रश्नबाट अलग भयो भने श्रमजीवीको अधिकार स्थापित गर्न गाह्रो पर्दछ भन्ने बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।

नेपालमा पर्याप्त रोजगारीको अवसर हुँदा हुँदै पनि धेरै युवाहरू विदेश गएका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । विगतको लाहुरे संस्कृतिको निरन्तरतास्वरुप आजका युवाको पनि विदेश प्रतिको आकर्षण रहेको पोखरेलले स्प्ष्ट पार्नुभयो ।

नेपालको कृषि क्षेत्र व्यावसायिक नहुँदा पनि विदेश पलायन बढेको उहाँले बताउनुभयो । ‘पढे लेखेको युवा पुस्ता कृषि कर्मबाट अलग भयो, यसले पढे लेखेका युवामा रोजगारीको समस्या देखा पर्‍यो, यो समस्याले गर्दा विदेश जाने प्रवृत्ति बढेको छ’, उहाँले भन्नुभयो ।

नेपालको श्रम क्षेत्रलाई कृषि कर्मसँग जोड्न कुरा ट्रेड युनियनको मुद्दा बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । कृषि क्षेत्रमा श्रम शक्तिलाई जोडने नसक्ने हो भने नेपालको ट्रेड युनियन आन्दोलनको आधार पनि कमजोर हुने पोखरेलको धारणा छ ।

नेपालको राजनीतिमा नेकपा एमाले अब्बल पार्टी भएको उहाँले बताउनुभयो । पोखरेलले एमाले जनताको सबैभन्दा रोजाइको पार्टी भएको स्पष्ट पार्नुभयो ।

नेकपा एमाले जब सबै खालका प्रहार तोडेर अघि बढ्छ तब पार्टी भित्रै अनेक खालका समस्याहरू आउने गरेका उहाँले बताउनुभयो । एमाले बलियो हुँदै गएपछि त्यसलाई कमजोर पार्न पार्टी बाहिर र भित्रका शक्तिहरू लाग्ने पोखरेलको धारणा छ ।

नेपालको राजनीति अब ध्रुवीकरणको दिशामा जानु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल बलियो बन्नु पर्ने र त्यसको लागि सही विचार र दृष्टिकोण आवश्यक रहेको पोखरेलले बताउनुभयो । ‘नीतिका आधारमा राजनीतिको ध्रुवीकरण बन्नुपर्दछ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेको मुख्य लक्ष वैज्ञानिक समाजवाद भएको उहाँले बताउनुभयो । त्यो नेपाली विशेषताको समाजवाद भएको पोखरेलले धारणा राख्नु भयो ।

पार्टीको मुख्य नेतृत्वलाई कमजोर बनाउन २ कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । एमालेका नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको उहाँले बताउनुभयो । ७० वर्षको उमेर हद हटाउन जबजको मूल मर्ममा कहाँनेर असर पर्‍यो भन्दै उहाँले प्रश्न गर्नुभयो । पार्टीको ११ औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिस्पर्धा गर्न सबै नेताहरूलाई खुल्ला रहेको पनि उहाँले बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा पठाउनु अघि पार्टी भित्र पर्याप्त छलफल र बहस भएको उहाँले बताउनुभयो । उहाँ राजनीतिक क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न मन्जुर भएको पोखरेलले स्पष्ट पार्नुभयो । कम उमेरको मान्छेलाई राष्ट्रपति बनाउनु हुँदैन कि भन्ने कुरा उठाउने मान्छे आफैँ भएको पोखरेलले सुनाउनुभयो । ‘ मैले विद्यादेवी भण्डारीको निवासमा गएर पनि तपाईँ नजानु बेस हुन्छ भनेर भनेको थिएँ, तर पार्टीले निर्णय गर्‍यो उहाँ हुनुभयो’, पोखरेलले भन्नुभयोे।

दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने उहाँले बताउनुभयो ।माओवादीले उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुनलाई राजनीतिमा ल्याएको बताउँदै उहाँले माओवादी यो व्यवस्था प्रति विश्वास गर्ने पार्टी नै नभएको दाबी गर्नुभयो । त्यसैले एमालेका नेताहरूलाई माओवादीको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।