जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार १८:०३

इन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित


हेटौँडा, साउन १४ । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्नुभएको हो।

नेपाली कांग्रेसका ३७ जना प्रदेशसभा सदस्यमध्ये  लामाले १४ मत मात्र पाउनुभएको छ। एक मत बदर भएको जनाइएको छ। संसदीय दलभित्र नेतृत्व परिवर्तनसँगै बागमतीको सत्ता समीकरणमा फेरबदलको सङ्केत देखिएको छ।

यसअघि दलको नेताका लागि भएको प्रतिस्पर्धामा भने लामा निर्वाचित हुनुभएको थियो। उहाँले त्यति बेला २१ मत पाउनु भएको थियो । अहिले भने परिस्थिति उल्टिएको छ। बानियाँको पक्षमा बहुमत जुटेको छ ।  संसदीय दलको नेता भएसँगै बानियालाई प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।