काठमाडाैं, साउन १५ । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको आज (बिहीबार) दिउँसोका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि बिहानै काठमाडौं प्रस्थान गरेसँगै शपथ ग्रहण स्थगित गरिएको हो। कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा उहाँको निर्देशनअनुसार शपथग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।’
शपथग्रहण समारोह स्थगित हुनुमा एकातर्फ प्रदेश प्रमुखको स्वास्थ्य समस्या देखिए पनि अर्कातर्फ पछिल्लो समय चुलिएको सत्ता समीकरणको किचलो पनि कारण भएको अनुमान गरिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने पाँच मन्त्रीहरू हटाई तीन नयाँ मन्त्रीहरूलाई नियुक्त गर्नुभएको थियो। लामाले गोविन्द लम्साललाई आन्तरिक तथा कानुन, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीका रूपमा नियुक्त गरी शपथ गराउन खोज्नु भएको थिए।
उहाँले हिजै ती मन्त्रीहरूलाई शपथ गराउन खोज्नु भएको थियो । हिजोको शपथग्रहण एमालेको आग्रहमा स्थगित गरिएको थियो भने आजको कार्यक्रम प्रदेश प्रमुख अनुपस्थित भएपछि रोकिएको हो।
हिजै कांग्रेसमा संसदीय दलको नेतामा इन्द्र बानिया निर्वाचित भइसक्नु भएको छ। पार्टीले बानियालाई मुख्यमन्त्री बनाउन चाहिरहेको बेला लामाले नयाँ मन्त्री नियुक्त गर्नु सत्ता जोगाउने प्रयासका रूपमा व्याख्या गरिएको छ। यद्यपि उहाँको यो निर्णय वैधानिक अधिकारभित्र पर्छ, तर दलभित्र समर्थन गुमाएको अवस्थामा गरिएको निर्णय राजनीतिक रूपमा विवादास्पद बनेको छ।
शपथ रोकिएपछि अब बागमती प्रदेशमा मन्त्रीहरूले कार्यभार सम्हाल्न सक्ने अवस्था छैन। अर्कातर्फ कांग्रेस संसदीय दलका नयाँ नेता बानियाले अब सरकार गठनको दाबी गर्ने तयारीमा गर्नु भएको छ।
प्रदेश प्रमुख कहिले फर्कनुहुन्छ भन्नेबारे अहिलेसम्म निश्चित जानकारी आएको छैन। उहाँ फर्किएपछि के पहिला स्थगित भएको शपथग्रहण कार्यक्रम अगाडि बढाइन्छ, वा नयाँ सत्ता संरचना अनुसार नयाँ निर्णय गरिन्छ भन्नेमा चासो छ।
यी घटनाक्रमले बागमती प्रदेशको राजनीति फेरि तरल अवस्थामा पुगेको छ। अबको केही दिनमा प्रदेश सरकारको नेतृत्वकाे पुग्छ भन्ने टुङ्गो लाग्ने छ ।














प्रतिक्रिया दिनुहोस्