जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार ११:४७

गुणस्तरहीन कामकाे परिणाम : सडक उक्कियाे, पर्खाल भत्कियाे, बस्ती पनि जोखिममा


रामेछाप, साउन १६ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै भत्किएको छ ।

पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत निर्माण गरिएको तिल्पुङ–धोबी सडकको  ढ्याङ्ग्रेदेखि कटहरे घुम्तीसम्मको पिच उक्किएकाे छ भने ठाउँ ठाउँमा पर्खाल भत्किएका छन् । भत्किएकाे सडक टालटुल पारेर भुक्तानी लिएकाे भए पनि फेरी भत्कन सुरु गरेकाे छ ।

चार किलोमिटर लम्बाइको सो सडकको विस्तार तथा कालोपत्रेका लागि श्री गौरीशङ्कर/रुपाकाली जेभी, काठमाडौंसँग १२ करोड ६४ लाख ५४ हजार २ सय ३३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियाे । २०८० असार १८ गते सम्झौता गरिएको सडक २०८२ असार १७ गतेसम्म सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको थियो ।

स्थानीयवासीका अनुसार पिच निर्माण हुनासाथ ठाउँ–ठाउँमा भत्किएको थियाे । त्यसपछि टालटुल पारेर काम सकिएको देखाएर भुक्तानी लिइएकाे छ । स्थानीय मिनुका आले मगरले बताउनुभयो, ‘पहिला हालेको पिच ठाउँ–ठाउँमा भत्कियो, पछि फेरी टालटुल पारेर गए, आँखामा छारो हाल्ने काम मात्र भयो, ठाउँ–ठाउँमा पहिरो झरेको छ, कतिपय ठाउँमा सडक नै झरेको छ, पर्खालहरू भत्किएर त्यस्तै छन्, व्यक्तिको घरमा जानो बाटाहरू भिर बनाएर छाडिएको छ, बस्ती पहिराेले तान्न लागेकाे छ’, उहाँले भन्नुभयाे ।

सडकको अत्यावश्यक स्थानमा संरक्षण पर्खाल नहुनुले गाउँ नै बग्ने जोखिम बढेको स्थानीयको भनाइ छ । तिल्पुङ ढ्याङ्ग्रेकाे पहिरोले बस्ती नै जोखिममा पारिरहेको छ । कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले भन्नुभयो, ‘पहिरो नियन्त्रणका लागि न निर्माण व्यवसायीले ध्यान दिएका छन् न कार्यालयले नै चासो देखाएको छ, लगातार गइरहेको पहिरोले सवारी आवागमन र सर्वसाधारणको यात्रा जोखिममा परेको छ, सडक निर्माणको क्रममा भएको लापरबाहीले १९ घर भएको बस्ती नै बग्ने स्थितिमा पुगेको छ ।’

तिल्पुङको अक्कर भिरमा निर्माण गरिएको ग्याभिनवाल सरेर सडक नै धसिन थालेको छ । बलियाे जग नराखी हालिएकाे ग्याभिनवालका कारण जुनसुकै बेला सडक अवरुद्ध हुने खतरा रहेको स्थानीय बताउँछन् । त्यसमा सरोकारवालाको ध्यान गएको छैन ।

सडक नजिकैको कटहरे घुम्तीमा राखिएको पिसिसी वाल जगैदेखि भत्किएको छ । सो क्षेत्रकै अर्को भागमा राखिएको मेसिनरी वालसमेत भत्किएर सडकमाथिको घर जोखिममा परेको स्थानीयले बताए। वडा सदस्य सरोज आलेले भन्नुभयो, ‘हामीले पटक–पटक ध्यानाकर्षण गरायौं, तर सुनुवाइ नै भएन, जग नै नखनि राखिएक पर्खाल ढल्दै छन्, गाउँ पहिराेमा परणत हुँदै छ।’

वालहरू कमसल सामाग्री प्रयोग गरेर बनाइएकाले चिराचिरा भएको, बलियो जग नराखिएकाले संरचना भत्किएको स्थानीय दीपबहादुर लुङ्गेली मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जगै नराखी पर्खाल लगाए, त्यो पनि सामाग्री राम्रो भएन, त्यसैले भत्किएको हो ।’

यस्तो अवस्थामा निर्माण व्यवसायीले सम्झौता अनुसार जिम्मेवारी बहन गर्ने कि नगर्ने भन्ने शङ्का स्थानीयमा देखिएको छ । कार्यवाहक वडाध्यक्ष पाण्डेले भन्नुभयो, ‘एक वर्षसम्म भत्किएको संरचना बनाउनुपर्ने जिम्मेवारी निर्माण व्यवसायीकै हो भनिएको छ, तर सबै तिर भत्किएको छ, रोड बिग्रिएको छ, के बनाउलान् खै !’

यस विषयमा उक्त आयोजनामा निर्माण व्यवसायीकाे तर्फबाट साइट इञ्चार्जका रुपमा आयाेजना बाेर्डमा नाम उल्लेख गरिएका विक्रम बुढाथोकीसँग सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल फोन बन्द देखियो ।

कार्यालय तर्फबाट साइट हेर्ने प्राविधिक इञ्चार्ज सुदिप कार्कीलाई सम्पर्क गर्दा उहाँले सुरुको फेजमा मात्र काम हेरेको र पछिल्लो काम आफूले नहेरेको जानकारी दिनुभयो ।

सडक विस्तार तथा कालोपत्रेको गुणस्तरीयता बारेमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि पूर्वाधार विकास कार्यालयले वास्ता नगरेको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतकाे गुनासाे छ। सडक विस्तारका क्रममा मनलाग्दी रुपमा भित्ता कटिङ गरिएकाले अहिले वडा नं ७ को ढ्याङ्ग्रेमा ठुलो पहिरो गएकाले १९ घरपरिवार उच्च जोखिममा रहेको उहाँले बताउनुभयाे । ‘सडकको कामको गुणस्तरीयताका बारेमा हामीले धेरै भन्यौ, तर पूर्वाधार विकास कार्यालयले स्थानीय सरकारलाई टेरेन, अहिले ठाउँ ठाँमा ठुलो पहिरो गएको छ, ढ्याङ्ग्रे भन्ने स्थानमा विशाल पहिरो गएकाले माथिका १९ घर परिवार उच्च जोखिममा परेका छन्’ उहाँले भन्नुभयाे ।