जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार १३:५७

झलनाथलाई माधवको चेतावनी : विधि नमान्ने भए खुरुक्क पार्टी छोडेर गए हुन्छ


काठमाडाैं, १६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टी छाड्न आग्रह गर्नुभएको छ ।

खनालले हालै एक अन्तर्वार्तामा ‘एमाले फुटाउनु गल्ती थियो’ भन्ने अभिव्यक्ति दिनुभएको विषयमा विराटनगर पुगेर प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले त्यस प्रकारको विचार पार्टीको निर्णय विपरीत भएको र यस्तो धारणा राख्ने व्यक्तिलाई संगठनमा रहन नहुने टिप्पणी गर्नुभयो । ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन, अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ, त्यस्तो हो भने उहाँले पार्टीबाट बिदा लिनुपर्छ ।’

अध्यक्ष नेपालले झलनाथ खनाल पार्टीको निर्णयको उलङ्घन गर्ने मामिलामा पहिलो नम्बरमा रहेको आरोप समेत लगाउनुभयो । उहाँले पार्टीभित्रको विधि र निर्णयको पालना नगर्ने प्रवृत्तिको आलोचना गर्दै खनालजस्ता नेताले संस्थागत निर्णयको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालले माओवादी केन्द्रसँग बनेको समाजवादी मोर्चा पार्टीको संस्थागत निर्णय भएको स्पष्ट पार्नुभयो । ‘यो हाम्रो पार्टीको संस्थागत निर्णय हो, यसमा कसैले विरोध गर्नुको अर्थ छैन’, उहाँले भन्नुभयो ।

मोर्चाको निरन्तरता, सहकार्यको सुदृढीकरण र दुई दलबिच विश्वासको जग निर्माण गर्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ । तर, माओवादी केन्द्रसँग पार्टी एकीकरण हुने चर्चा निराधार भएको उहाँले बताउनुभयो । ‘तपाईँहरूलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको ? अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ, दुई पार्टीबिच सहकार्यको कुरा अगाडि बढाऔँ’, उहाँले भन्नुभयो ।

उहाँले वर्तमान गठबन्धन सरकारलाई असफल भन्दै त्यसको मुख्य जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘अहङ्कार’ भएको आरोप लगाउनुभयो । ‘एउटा व्यक्ति केपी ओलीको अहङ्कारका कारण देश पीडित छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले आफू विरुद्ध उठाइएको भ्रष्टाचारसम्बन्धी मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिनुभयो । ‘माथि लागेको मुद्दा भ्रष्टाचारको हैन, राजनीतिक पूर्वाग्रहको परिणाम हो, मैले एक पैसा पनि तलमाथि गरेको छैन’, उहाँले भन्नुभयो ।

उहाँले त्यसमा मन्त्रालयदेखि मन्त्रिपरिषद्सम्मको सबै प्रक्रिया पूरा गरेर निर्णय लिइएको स्पष्ट पार्नुभयो । ‘मन्त्रालय, उपसचिव, सचिव, राज्यमन्त्री, पूर्ण मन्त्री र क्याबिनेटसम्मको सम्मत निर्णय भएको छ, कसैको फरक मत छैन, ऐन, कानुन र संविधानले दिएको अधिकार प्रयोग गरिएको हो’,  उहाँले भन्नुभयो .

पतञ्जलिसँग जोडिएको सार्वजनिक जग्गासम्बन्धी विवादका सन्दर्भमा अध्यक्ष नेपालले पतञ्जलिलाई सार्वजनिक जमिनको एक टुक्रा पनि नदिएको दाबी गर्नुभयो । उहाँले कानुन अनुसार हदबन्दीभन्दा बढी जग्गा किन्न पाउने प्रावधान रहेको उल्लेख गर्नुभयो ।