तत्कालीन वेलायती प्रधानमन्त्री विस्टन चर्चील भन्दथे, ‘सत्य उठेर जुत्ता लगाउँदै गर्दा भ्रमले आधा संसार घुमिसकेको हुन्छ ।’ सायद यही कुराबाट दिक्षित भएर होला माधव नेपाल अतिशयोक्तिमार्फत भ्रम सिर्जना गर्ने प्रयासमा छन
निर्मल भट्टराई
अकारण नेकपा एमाले विभाजन गरेर बनेको ‘एकीकृत समाजवादी’ नामक पार्टीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्ततः एमाले विभाजन गल्ती भएको स्वीकारेका छन । नेकपा एमाले एउटा प्रमुख कम्युनिष्ट केन्द्र भएको र त्यसलाई कमजोर बनाउने कार्य गरेर आफूहरुबाट गल्ती भएको उनको ठम्याइ छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने देशी–विदेशी षडयन्त्रबाट वशीभूत भएर एमाले विभाजन गर्ने माधव नेपालको हर्कतलाई अकारण साथ दिएका झलनाथ खनालको आँखा खुल्नुलाई सकारात्मक रूपमा लिन सकिन्छ । यसबाट झलनाथ खनाल माधव नेपालको असलियतबाट आजित भएका छन, ब्युँझिएका छन र आफ्नो गौरवशाली पूर्वघर एमाले सम्झिएका छन भन्ने प्रष्ट देख्न सकिन्छ ।
‘एकीकृत समाजवादी’ कोटरीमै हालसम्म अल्झिएर रहेका तर देश, जनता र नेपालको कम्युनिष्ट आन्दोलनको श्रीवृध्दिको अलिकति चिन्ता गर्ने नेता–कार्यकर्ताको उकुसमुस सतहमै महसुस हुन थालेको निकै भएको छ । पछिल्लो घटनालाई हेर्ने हो भने माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेतृ रामकुमारी झाँक्रीले सटिक टिप्पणी गरेकी थिइन्न, ‘सिनोलाई बोकेर हिँड्न सकिदैन ।’ यसको सोझो अर्थ हो, माधव नेपाल नेता हुन पूर्णरूपेण असफल भए, आउटडेटेड भए ।
माधव नेपाललाई अख्तियार दुरूपयोगको मुद्दा लागेपछि विगतमा एमालेको महासचिव हुँदा दुवै निर्वाचन क्षेत्रबाट पराजित भएपछि ‘नैतिकताको आधारमा’ राजिनामा दिएका उनले पार्टी अध्यक्षबाट तुरून्त राजिनामा देलान भन्ने आम मानिसको लखकटाइ थियो । तर माधव नेपाललाई यहाँ नैतिकताको प्रश्न प्रधान भएन । बरू लामो अनुसन्धानबाट एक संबैधानिक निकायले प्रक्रियागत रूपमा चलाएको मुद्दालाई ‘केपी ओलीले आफूमाथि प्रतिशोध साँधेको’ भनेर कुर्लन थाले, कुर्लिरहेका छन ।
प्रथम संविधानसभामा जनताले दुई–दुई निर्वाचन क्षेत्रबाट अस्वीकृत गर्दा पनि ‘संविधानसभामा माधव नेपालजस्तो मान्छे चाहिन्छ’ भनेर गिरिजाप्रसाद र प्रचण्डलाई कन्भिन्स गराएर संविधानसभामा मनोनित भएको र संविधान निर्माणको सम्पूर्ण प्रक्रियामा सामेल भएको माधव नेपाललाई थाहा हुनुपर्ने हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री वा केपी शर्मा ओलीको काखे आयोग होइन । उनीमाथिको अनुसन्धानको सिलसिला वर्षौंदेखिको हो, ओली प्रधानमन्त्री भएपछि सुरू भएको होइन । अनुसन्धान, तहकिकात र फैसला सबै प्रधानमन्त्रीबाट हुन्छ भने जसरी बहस गर्ने हो भने अख्तियार, अदालत किन चाहियो ?
पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा तारिख धाइरहेका छन माधव । त्यहाँ आफ्नो निर्दोषिताका प्रमाण पेश गर्न, कानुन व्यवसायीमार्फत बहस गराउन र मुद्दा जित्न लागि पर्नुपर्ने माधव नेपाल असम्बन्धित ठाउँमा आफ्नो निर्दोषिताको फलाको गर्दै हिँडेको पटक्कै सुहाएको छैन । अझ मुद्दाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारेहात लगाएर ‘प्रतिशोध– प्रतिशोध’ भनेको त निकृष्टताको पराकाष्ठा नै हो ।
एमालेको नवौं पूर्ण बैठकले देशको राष्ट्रपति, उपराष्ट्रपति भइसकेको कोही व्यक्ति पनि दलीय राजनीतिमा फर्कन मिल्दैन भन्ने ऐतिहासिक नीतिगत निर्णय गर्यो । त्यसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्वपार्टी एमालेमै सकृय हुने इच्छा व्यक्त गरिरहेको सन्दर्भमा त्यो निर्णयले पार्टीभित्र र बाहिर सिर्जना भएको भ्रमलाई समाधान गर्यो । माधव नेपाल ‘विद्यालाई निषेध गरियो’ भनेर गोहीको आँसु झारिरहेका छन । यो उनको अतिशयोक्ति हो । एमालेप्रति अनावश्यक लाञ्छना हो ।
तत्कालीन वेलायती प्रधानमन्त्री विस्टन चर्चील भन्दथे, ‘सत्य उठेर जुत्ता लगाउँदै गर्दा भ्रमले आधा संसार घुमिसकेको हुन्छ ।’ सायद यही कुराबाट दिक्षित भएर होला माधव नेपाल अतिशयोक्तिमार्फत भ्रम सिर्जना गर्ने प्रयासमा छन । सहकारी ठग रवि लामिछानेको सिको गर्दैछन् । तर उनले सिर्जना गर्न खोजेको भ्रमले बामे सर्न नपाउँदै सत्य उजागर भइहाल्छ, पतञ्जली प्रकरणको पटाक्षेप भइहाल्छ । ओलीलाई देखाएर हाल भइरहेको उनको रुवाबासीको आयु पानीको फोकाको आयुभन्दा लामो छैन ।
माधव नेपाल र झलनाथ खनालको मुख हेरेर एमाले विर्सने सयौं नेता–कार्यकर्ताको हालत के होला ? जे भए पनि भए पनि एकताबद्ध कम्युनिष्ट आन्दोलनको पक्षपोषण गर्ने र विचारको वैशाकी टेक्ने झलनाथतिर उनीहरू मोर्चाबन्दी गर्लान कि आफ्नै पदको कुरा गर्ने, त्यत्रो घोटालाको मुद्दा लाग्दा पनि नैतिकता नलाग्ने, मौका पर्नासाथ माओवादी क्याम्पमा थुनिन तयार हुने माधव नेपालको पछि लाग्लान ? समयले बताउने नै छ ।













प्रतिक्रिया दिनुहोस्