जनता टाइम्स

२० भाद्र २०८३, शनिबार १८:२२

२५ लाखको सहयोग देखाएर जनताबाट ११ करोड असुल्नु कस्तो नीति हो ? सांसद कार्की


काठमाडौं, भदौ २० नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाउनुभएको छ।

काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा बोल्दै सांसद कार्कीले बाढीपीडितका नाममा नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताउनुभएको हो।

उहाँका अनुसार निगमले २५ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको ग्यास सहयोग गरेको भए पनि प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाउँदा काठमाडौं उपत्यकाका उपभोक्तामाथि मात्रै एक महिनामा ११ करोड ५९ लाख रुपैयाँभन्दा बढीको अतिरिक्त भार परेको छ।

‘२५ लाखको सहयोग गरेर जनताबाट साढे ११ करोडभन्दा बढी असुल्नु कस्तो नीति हो ?’ भन्दै सांसद कार्कीले मूल्यवृद्धिको निर्णयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो।

एलपी ग्यास आम नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको भन्दै उहाँले मूल्यवृद्धिले विपन्नदेखि मध्यम वर्गसम्म प्रत्यक्ष असर पार्ने उल्लेख गर्नुभयो।

सांसद कार्कीले सरकारको ध्यान काठमाडौं उपत्यकामा मात्रै केन्द्रित भएको आरोप लगाउँदै उपत्यका बाहिरका नागरिकको समस्यालाई समेत प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासजस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा समग्र बजारमा महँगी बढ्ने भएकाले मूल्यवृद्धिको निर्णय पुनर्विचार गर्न उहाँले माग गर्नुभयो।