ललितपुर, २५ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परी ललितपुरमा बसोबास गर्ने १५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको ललितपुर प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार सम्पर्कविहीनमध्ये ११५ पुरुष, ३९ महिला र तीन बालक छन्। खोजीका क्रममा नौ जना भेटिएका छन्। भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका छन्।
सम्पर्कविहीनमध्ये ९९ जना अन्य जिल्लाको स्थायी ठेगाना भएर ललितपुरमा बस्दै आएका छन्। उनीहरूमा ८१ पुरुष, १७ महिला र एक बालक छन्।
त्यस्तै, बाढीमा ललितपुरमा बसोबास गर्ने ४१ जना विदेशी नागरिकसमेत बेपत्ता छन्। बेपत्ता विदेशीमा २० महिला, १९ पुरुष र दुई बालक छन्। उनीहरूमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन्।
बाढीमा परी घाइते भएका २४ जनामध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। घाइतेमध्ये एक पुरुषको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल र एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।
बाढीमा परी मृत्यु भएका पाटन सुन्धाराका एक महिला र एक पुरुष गरी दुई जनाको शव परिवारलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो।














प्रतिक्रिया दिनुहोस्