जनता टाइम्स

१८ श्रावण २०८२, आईतवार २२:५३

अहिले सबैको प्रहारको निशाना केपी ओली : शंकर पोखरेल 


काठमाडौं, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी र नेतृत्व माथि अहिले चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहारको निशाना बनेको बताउनुभयो । यसको सामूहिक प्रतिवाद आवश्यक रहेको पोखरेलले बताउनुभयो । ‘आज हाम्रो पार्टी र आन्दोलन माथि जसलाई केन्द्र विन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको निशाना पार्टी अध्यक्ष बन्नु भएको छ, अहिले भइरहेको प्रहार पार्टी विरुद्धको प्रहार होइन र ?’, उहाँले भन्नुभयो ।

मिसन २०८४ को लागि केपी ओली अनिवार्य भनेर पार्टी केन्द्रीय कमिटीले निष्कर्ष निकालिसकेको उहाँले बताउनुभयो । ‘मिसन २०८४ को लागि केपी आलेको आवश्यकता छ भन्ने कुरामा पार्टी केन्द्रीय कमिटी पुगेको छ, यसका अर्थ आउने महाधिवेशनमा कसैलाई रोकिँदैन’, उहाँले भन्नुभयो ।

मिसन २०८४ लाई केन्द्रमा राखेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । पार्टीको महाधिवेशनले यसलाई थप बलियो बनाएर लैजाने पोखरेलको दाबी छ ।

महासचिव पोखरेलले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहस्यमय तथा अलौकिक पात्रजस्तो हुन नहुने भन्दै जनता र कार्यकर्ताबाट नियमित अनुमोदन हुने प्रणालीमा जानुपर्ने बताउनुभयो । प्रतिस्पर्धाबाट नेतृत्व हासिल गर्ने कुरा पार्टीको संगठनात्मक प्रणाली र जीवन बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले सामन्तवादलाई राजनीतिक रूपमा पराजित गरिए पनि दलाल पुँजीवाद यथावत् रहेको बताउनुभयो । ‘हाम्रो समाजमा दलाल पुँजीवाद अझै चुनौतीका रूपमा रहेको छ, विविध कारणले अर्थतन्त्रलाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकिएको छैन, जसले गर्दा नेपाली राजनीतिमा बाह्य प्रभाव रहेको छ’, उहाँले भन्नुभयो ।

पोखरेलले तथ्यभन्दा बाहिर गएर कुनै पनि विषयको बहस गर्न नहुने बताउनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बहस पनि तथ्यभन्दा बाहिर गएर गरिएको बहस भएको उहाँले बताउनुभयो । भण्डारीललाई एमालेले पार्टी भन्दा धेरै माथिको स्थान दिएर गणतन्त्रको गौरवबाट सममान गरेको उहाँले सुनाउनुभयो । ‘उहाँ हाम्रो पार्टीको गौरव हो, आस्थाको केन्द्र हो, उहाँलाई सिङ्गो राष्ट्रको अभिभावको रूपमा उभ्याउने पार्टीको मिसन हो’, पोखरेलले भन्नुभयो ।

विद्या भण्डारीको सन्दर्भमा पार्टीले ठिक गरेछ भन्ने अनुभूति विद्या भण्डारी र राष्ट्रले पनि गर्ने गरी एमाले अघि बढ्ने पोखरेलले प्रष्ट पार्नुभयो । यसमा अन्यथा सोच्न आवश्यक नरहेको पोखरेलले बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले पार्टीलाई एकढिक्का बनाएर मिसन २०८४ मा केन्द्रित हुनुपर्ने बताउनुभयो । उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीले पार्टी नेतृत्व र सरकारमाथि हुने हमलाको सबैले प्रतिपादन गर्नुपर्ने बताउनुभयो ।