जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार ०९:०३

माबिलुङ्ग इनर्जीको आईपीओ साउन २६ गतेदेखि सर्वसाधारणका लागि खुला


काठमाडौं, १९ साउन । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन २६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको सेयर बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ ल्याउन लागेको हो।

कम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसअन्तर्गत पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्दैछ, जसमा ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन २९ गतेसम्म रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।