जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार १०:०१

एमालेको कमाण्ड इश्वर पोखरेलको हातमा, अब उभिनेछन् अध्यक्ष ओलीकै साथमा


काठमाडौं, साउन १९ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाउनु भएको छ ।

आफू बिदेशमा रहँदा पार्टीको नीति र निर्णयको कार्यान्वयन गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार एमाले विधान २०४९ (संशोधन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ ।

प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम रहेको छ । अध्यक्ष ओली नफर्कदासम्म पोखरेलले पार्टी निर्णयलाई कार्यान्वयनको पक्षमा दृढतापुर्वक भूमिका निर्वाह गर्ने एमालेले जनाएको छ ।यही साउन ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राष्ट्रकै अभिभावक रहेको ठहरसहित राजनीतिमा फर्कन नमिल्ने निर्णय गरेको थियो । सो निर्णयपछि एमालेले देशभर अभियान सञ्चालन गरिरहेको छ । कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएसँगै अव पोखरेलले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी राजनीतिमा आउन नमिल्ने पार्टी निर्णयको दृढतापुर्वक कार्यान्वयन गर्ने पक्षमा आफूलाई उभ्याउनु भएको छ ।