काठमाडौं, साउन १९ । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले संसद् बहिष्कार वा अवरुद्ध गरेर राजनीतिक निकास ननिस्कने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गैरेले यस्तो कामले जनताको बिचमा सकारात्मक सन्देश नगएको बताउनुभयो । सदनमा नै कुरा राखेर सदन मार्फत समस्या समाधान गर्नुपर्ने उहाँको धारणा छ । ‘संसद् वाद गर्ने ठाउँ, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो’, उहाँले भन्नुभयो ।
संसदमा सभामुखलाई लाञ्छित गरेर वा प्रधानमन्त्रीलाई आरोप लगाएर नीति निर्माणको काम छाडेर अन्यत्र बरालिने कुराले जनताको हित नहुने उहाँले बताउनुभयो । संसद्लाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार भएको उहाँले स्पष्ट पार्नुभयो ।
सरोकारवालासँग गरेको प्रतिबद्धता अनुसार शिक्षा विधेयक, निजामती कर्मचारी विधेयक वा प्रहरी सम्बन्धी विधेयक पास गर्न ढिला भइसकेको उहाँले बताउनुभयो । आवश्यक कानुन बनाएर कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने आजको आवश्यकता रहेको गैरेले बताउनुभयो ।
वातावरण परिवर्तनले नेपालका हरेक क्षेत्र प्रभावित भएको बताउँदै उहाँले त्यसलाई पनि कानुन बनाएर सरलीकरण गराउन आवश्यक रहेको गैरेको धारणा छ । सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि ज्येष्ठ नागरिक आफैँ वडा कार्यालयमा जानुपर्दा समस्या परेको भन्दै उहाँले त्यसलाई पनि कानुन बनाएर सहज बनाउनु पर्ने धारणा राख्नु भयो ।
संसदमा जनताका सरोकारका विषयमा ज्वलन्त छलफल हुनु पर्ने उहाँले बताउनुभयो । बहिष्कार गरेर एउटाको टाउकोमा थोपरेर हिँड्दैमा समस्या समाधान नहुने तर्फ सचेत हुन उहाँले सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्नुभयो ।
आज लोकतान्त्रिक गणतन्त्रलाई असफल र कमजोर बनाउन केही शक्ति लागेकाले त्यसलाई चिर्न पनि गणतन्त्रका पक्षधरहरू एक ठाउँमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा केही छैन, नेपाल बस्नु भनेको बरबादी तर्फ जानु हो भन्ने जस्ता भ्रम फिँजाएर भोट बटुल्ने दुष्साहस नगर्न पनि उहाँले आग्रह गर्नुभयो । संविधानको कार्यान्वयन गरेर समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न सबै उन्मुख हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्