जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १४:२९

नेपाली भूमिमा भारतको अतिक्रमणबारे बोल्यो चीन


काठमाडौं, कात्तिक २९ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो सीमाभित्र राखेको विषयमा उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ । कालापानी क्षेत्र अतिक्रमणको बिषयलाई लिएर नेपालमा भारतको चर्काे बिरोध भइरहेको बेला उत्तरी छिमेकी चीनले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले पत्रकारसँग कुरा गर्दै कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शका आधारमा टुंग्याउनु पर्ने बताउनु भयो । भर्खरै भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले नेपाल–भारत सीमा विवादलाई तीव्र बनाएको छ । नेपाली पक्षले यसमा धेरै चासो र असन्तुष्टि व्यक्त गरेको छ । यसबारे चीनको धारणा के छ ? योसँगै चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको भन्ने समाचारहरू आएका छन, यसबारे के भन्नुहुन्छ भनी सोधिएको प्रश्नको जवाफ दिँदै दूतावासका प्रवक्ताले सो भनाई राख्नुभएको हो ।

‘कालापानी क्षेत्रको विवाद मित्रवत् परामर्श र वार्ताका माध्यमबाट टुंग्याऊन् भन्ने चीनको चाहना छ,’ प्रवक्ता वाङ सिओयोलोङले भन्नुभयो, ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ ।’ प्रवक्ता वाङले चीनले नेपाली भुमि मिचेको बिषयमा भने गैरजिम्मेवारपुर्ण समाचार भन्नुभयो । ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन, उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ,’ प्रवत्ता वाङले भन्नुभयो ।

उहाँले नेपाल र चीनले सन् १९६१ मा सीमा सन्धीमा हस्ताक्षर गरेको र सोही सन्धीका आधारमा सीमा तय भएको उल्लेख गर्नुभयो । ‘पछिका वर्षहरूमा दुबै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दा राम्रो सहकार्य गरिरहेका छन्। अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुबै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेका छन,’ वाङले भन्नुभयो, ‘चीन नेपालसँग सीमा समस्या, बाहिर हस्तक्षेपको विरोध र साझा विकासका लागि सहकार्यलाई थप बलियो बनाउन चाहन्छ ।’उहाँले नेपाल–चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने भनाईसमेत राख्नुभयो ।