जनता टाइम्स

२० श्रावण २०८२, मंगलवार २०:१४

भूपरिवेष्ठित मुलुकहरूको रूपान्तरण  विकल्प होइन, आवश्यकता : प्रधानमन्त्री 


आवाजा (तुर्कमेनिस्तान), साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी)को दीगो समृद्धिका लागि संरचनात्मक रूपान्तरण, विविधीकरण, तथा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ।

तुर्कमेनिस्तानको आवाजामा जारी एलएलडिसीहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अन्तर्गत आयोजित ‘समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र नवप्रवर्तन’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूपरिवेष्ठित मुलुकहरूको रूपान्तरण कुनै विकल्प होइन, समयको आवश्यकता हो।’

उहाँले भूपरिवेष्ठित देशहरूमा दिगो विकास सुनिश्चित गर्नको लागि नवप्रवर्तन र प्रविधिको उपयोग अपरिहार्य रहेको धारणा राख्नुभयो। ‘हाम्रो भौगोलिक अवस्थाले हामीलाई सीमित बनाएको छ, तर प्रविधिको प्रयोगले यी सीमाहरू पार गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

संरचनागत रूपान्तरणका निम्ति दीर्घकालीन नीतिगत प्रतिबद्धता, पूर्वाधारमा लगानी, मानव संसाधनको विकास, तथा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकाे उहाँले बताउनुभयाे । ओलीले नेपालले पछिल्लो समय लिएको संरचनात्मक सुधार र विविधीकरणतर्फको नीति परिवर्तनको बारेमा पनि जानकारी दिनुभयो। उहाँले नेपालले कृषि, जलविद्युत, पर्यटन, तथा सूचना प्रविधिमा विविधीकरण गर्दै आएको र त्यसबाट सकारात्मक संकेत देखिएको उल्लेख गर्नुभयो।

बैठकमा प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित देशहरूका साझा चुनौतीहरूको सम्बोधनका लागि एकआपसमा सहयोग र अनुभव साटासाट अपरिहार्य रहेको पनि बताउनुभयो। उहाँले संयुक्त राष्ट्रसङ्घ तथा अन्य विकास साझेदारहरूप्रति आह्वान गर्दै यस्तो पहललाई अझ मजबुत बनाउन आग्रह गर्नुभयो।

‘भूपरिवेष्ठित देशहरूको विकासले विश्वको समग्र समृद्धिमा टेवा पुर्‍याउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले एकआपसमा सहयोग, ज्ञान सञ्जाल र नवीन प्रयोगहरूलाई प्राथमिकता दिनुपर्छ।’

सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री, कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी छन्।