प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता
तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा तुर्कमेनिस्तान रहनुभएका ओलीकाे उहाँसँग शिष्टाचार भेट भएकाे हाे । भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, व्यापार तथा यातायात जस्ता विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपालजस्ता भूपरिवेष्टित राष्ट्रका लागि क्षेत्रीय र अन्तरदेशीय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै तुर्कमेनिस्तानसँग पारवहन, पूर्वाधार विकास र ऊर्जा सहकार्यका सम्भावनाहरूको चर्चा गर्नुभएको थियो ।

राष्ट्रपति बेरदिमुहामेदोभले नेपालसँगको सम्बन्धलाई तुर्कमेनिस्तानले उच्च सम्मानका साथ हेर्ने बताउनुभयाे । उहाँले एलएलडिसी मुलुकबीच आपसी सहकार्य र साझा चुनौतीहरू समाधानका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने सहमति जनाउँदै भविष्यमा विभिन्न क्षेत्रीय सम्मेलन तथा द्विपक्षीय बैठकमार्फत सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्