जनता टाइम्स

२१ श्रावण २०८२, बुधबार २०:३१

सामान्य प्रशासनमन्त्री न्यौपानेको अठोट : सरुवा-बढुवामा पैसा खर्च गर्नुपर्छ भन्ने कर्मचारीको मानसिकता बदल्न नीतिगत सुधारको काम अघि बढाउँछु


काठमाडौं, साउन २१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरुवा–बढुवामा पैसा खर्च गर्नुपर्छ भन्ने कर्मचारीको मानसिकता बदल्ने अभियानमा आफू लागेको जानकारी दिनुभएको छ । प्रेस चौतारी नेपालले मन्त्रालयमै आज आयोजना गरेको मन्त्री–पत्रकार सम्वादमा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

आफू मन्न्त्रालयको नेतृत्वमा आएपछिको यो २१ दिनमा समस्या बुझ्न सकेको जानकारी दिँदै मन्त्री न्यौपानेले पैसा खर्च गरेर मात्रै काम हुन्छ भन्ने गलत मानसिकता कर्मचारी र नागरिक दुवैमा देखिएको तथ्य सुनाउनु भयो ।

‘सरुवा-बढुवा हुनका लागि मन्त्रालयमा धाउनुपर्छ, पैसा खर्च गर्नुपर्छ भन्ने कर्मचारीको मानसिकता र कर्मचारीसँग काम लिन पैसा खर्च गर्नुपर्छ भन्ने सेवाग्राहीको मानसिकता अन्त्य गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको छु, यसैअनुसार नीतिगत सुधारको प्रयाश अघि बढाइने छ,’ मन्त्री न्यौपानेले भन्नुभयो, ‘सरुवाका लागि नेताको घरघर धाउने, मन्त्रालयमा दिनदिनै धाउने कुरा सदाका लागिअ न्त्य गर्नुपर्छ भन्ने मेरो सोच रहेको छ । ’उहाँले कर्मचारी प्रशासन र संघीयता कार्यान्वयन दुवै गम्भीर बिषय रहेकोले नीतिगत सुधार अनिवार्य रहेको धारणा राख्नुभयो ।

‘मन्त्रालयमा भएको छलफल, समस्या पहिचान र सुझावका आधारमा नीतिगत सुधारको बाटोमा अघि बढेको छु । नीतिगत परिवर्तन गर्नुपर्छ भन्ने निश्कर्षमा पनि पुगेको छु,’ मन्त्री न्यौपानेले भन्नुभयो । उहाँले सरुवा बढवाको बेथिती अन्त्यका लागि सिष्टममै सुधारको काम अघि बढाइएको बताउनु भयो । ‘कर्मचारी नै प्रष्ट हुनेगरी नितीगत सुधार थाल्नुपर्छ । ‘अव मेरो यहाँ सरुवा हुन्छ भन्ने ढंगले कर्मचारी आफैले प्रेडिक्ट (पूर्वअनुमान) गर्न सक्ने गरी सिष्टमको बिकाश गर्न जरुरी छ । यसैतर्फ मेरो ध्यान केन्द्रित छ,’ मन्त्री न्यौपानेले भन्नुभयो । उहाँले सुशासनको सवालमा उठेको प्रश्न, सरुवा बढुवाको सवालमा उठेको प्रश्नलाई सम्बोधन गरी आगामी दिनमा सुधार गर्नेतर्फ पनि ध्यान केन्द्रित हुने जानकारी दिनुभयो ।

मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको सवालमा उठेको प्रश्नको पनि उचित सम्बोधन गर्दै सवै नागरिकमा संघीयताप्रतिको बिश्वास जगाउने काम मन्त्रालयले गर्ने जानकारी दिनुभयो । स्थानीय तहले समयमा बजेट ल्याउन नसकेको बिषयमा समेत मन्त्रालयले नीतिगत निर्णय गरेर कारणको खोजी गर्न टीम खटाइएको उहाँले जानकारी दिनुभयो । मन्त्री न्यौपानेका अनुसार आज मात्रै तीन जना सहसचिवको नेतृत्वमा बजेट आउन नसकेका पालिकामा किन आउन सकेन भनेर यथार्थ कारण पत्ता लगाउन फिल्डमा पठाइएको छ ।

पत्रकारसँगको सम्वादमा मन्त्री न्यौपानले आफू आर्थिक मामिलामा लोभ नगर्ने भएको जानकारी दिँदै आफ्नो नाम लिएर कसैले पनि भनेमा जानकारी दिन तर त्यस्तो गलत काम नगर्न सार्वजनिक आग्रह पनि गर्नुभयो । ‘मेरो सचिवालयसहित कसैलाई पनि मैले गलत काम गर्न दवाव दिन भन्दिन, म आफू पनि यसमा सचेत छु । कसैले मेरो नाम लियो भने मलाई तत्कालै जानकारी गरिदिनु होला, कँही कतैबाट गलत काम नहोस भन्ने मेरो चाहना छ,’ मन्त्री न्यौपानेले भन्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र महासचिव हिरामान लामाको सहजीकरणमा भएको मन्त्री–पत्रकार सम्वादमा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डित, सञ्चारिक समुहकी अध्यक्ष कमला पन्थी र फोजिनका अध्यक्ष लक्की चौधरीले बिगतमा जेजस्ता बिवादास्पद काम भए, त्यसको जड पत्ता लगाएर समृद्ध नेपाल निर्माणको आधार तयार पार्ने र संघीयतामाथि उठेको प्रश्नको निवारणको काम गर्न सुझाव दिनुभयो । उहाँहरुले संघीयता कार्यान्वयनमा आइपर्ने समस्या समाधानका लागि सरकारसँग नेपाली सञ्चार क्षेत्र हातेमालो गर्न तयार रहेको जानकारी पनि गराउनु भएको छ ।

Oplus_16908288
Oplus_16908288