काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले नयाँ पुस्ताबाट धेरै कुरा सिकेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वास्तविक युवासँग अन्तरक्रिया गर्दा धेरै नयाँ कुरा सिकिने बताउनुभयो । ‘जति धेरै नयाँ पुस्ताका साथीहरूसँग भेट्छु, एकदम धेरै सिकेको छु’, उहाँले भन्नुभयो ।
उहाँले राजनीति परिवर्तनसँग जोडिने बताउनुभयो । परिवर्तनको कुरा जहिले पनि आशासँग जोडिएको बताउँदै उहाँले आज नेपाली समाजले आशा गुमाउँदै गएको धारणा राख्नु भयो ।
हिजो सशस्त्र द्वन्द्व बेलामा पनि नागरिकमा एक खालको आशा भएको बताउँदै उहाँले अहिले त्यो कुरा पनि मरेको बताउनुभयो । विगतमा यही भित्र केही हुन्छ भन्ने आशा भएको भए पनि अहिले युवामा यहीँ हुनसक्छ, गर्न सकिन्छ भन्ने कुरामा ह्रास आएको उहाँको धारणा छ ।
नेपालको अहिलेको सबैभन्दा ठुलो मुद्दा रोजगारी भएको बताउँदै उहाँले हरेक वर्ष ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । वार्षिक १ लाख मानिसले रोजगारी पाउने तर त्यस अनुसारको पारिश्रमिक नहुने कारणले युवाको विदेश पलायन बढेको उहाँको धारणा छ । ‘नेपालमा युवाको मुद्दा रोजगारी हो, त्यससँगै उसको आम्दानी पनि हो’, थापाले भन्नुभयो ।
नेपालको राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै उहाँले राजनीति फोहोर जमेको पोखरी जस्तो भएको बताउनुभयो । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुन लाग्दा समेत उही पुरानै नेताहरू देशका सबैभन्दा ठूला नेता भएका कारण त्यो फोहोर सफा गर्न नसकेको उहाँको धारणा छ ।
अहिले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको उहाँको भनाइ छ । र नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्किएकोले पुराना नेताहरूले बाटो खालि गरिदिए राम्रो हुने उहाँको धारणा छ । ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मान्छे हुन्थेँ, अवमूल्यन गरेर भनेको होइन, एकदमै ठुलो सम्मान छ उहाँहरूप्रति, उहाँहरूले नेपालमा ठुलो योगदान गर्नुभएको छ तर नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको छ, यसको मुख्य कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ’, उहाँले भन्नुभयो ।
पार्टीमाथि नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बद्लनुपर्ने उहाँको भनाइ छ । ‘म युवा हुँदै गर्दा पनि देशको सबैभन्दा ठुलो नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड नै, म अहिले ५० वर्ष हुन लाग्दा समेत उहाँहरू नै हुने कुरा लोकतन्त्रमा यस्तो हुँदैन, पार्टीमाथि पहिला कन्ट्रोल र पार्टीमार्फत नेपालको राजनीतिमाथिको जुन नियन्त्रण छ, यो नबदलेसम्म हुँदैन’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्