जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार ०८:२९

विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी


काठमाडौ, २६ साउन । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैहुनुहुन्छ।

हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा  पद्मा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैहुनुहुन्छ ।

उहाँहरु अहिले त्रिभुवन विमानस्थलमा हुनुहुन्छ । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उहाँहरु इजरायल जान लाग्नुभएको हो ।  इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो ।

पदमा र पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा जानुहुने छ । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ ।उहाँहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ ।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल जानुभएकाे थियाे । हमालसले इजरायलमा आक्रमण गरेपछि उहाँ २०८० असोज २० गतेदेखि सम्पर्कमा हुनुहुन्न । उहाँलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।