काठमाडौँ, साउन २६ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूका नाममा खोलिएका प्रतिष्ठानले सोही अनुसारका क्रियाकलाप गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको शपथ गराउँदै अध्यक्ष ओलीले पार्टीका सम्मानित नेताको नाममा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिँड्नुपर्ने धारणा राख्नुभयो। ‘नेताहरूको नाममा बनाइएका प्रतिष्ठानहरूले नेताको आदर्श पच्छ्याउन सक्नुपर्छ, सामूहिक संस्था हुनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले मदन भण्डारी फाउन्डेशनका पदाधिकारीका ताजा अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाउनुभएको छ। पदाधिकारीहरूले विभिन्न खालका अभिव्यक्ति दिँदै आएको भन्दै उहाँले संस्थाको दिशा र उद्देश्य स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो। ‘नेताको नाममा बनेका प्रतिष्ठानलाई ठगी खाने भाँडो बनाउने परिपाटी हुनुहुन्न, नेताको आदर्श पछ्याउन सक्नुपर्छ र ती संस्था सामूहिक हुनुपर्छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले होइन, विभिन्न पक्षको सहमतिमा बनेको बताउनुभयो । तर त्यसको दुरुपयोग गर्ने प्रयास गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन, हामीहरू मिलेर बनाएको हो, मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउन नपाइने भएपछि मदन–आश्रित स्मृति प्रतिष्ठान बनाउनु परेको हो,आगामी दिनमा मदन भण्डारी फाउन्डेशन कसरी जान्छ ? त्यो भने हेर्न बाँकी छ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्