जनता टाइम्स

२७ श्रावण २०८२, मंगलवार ११:५९

बारम्बार हुने सरकार परिवर्तन विकासको लागि बाधक : किरण थापा मगर 


भक्तपुर, साउन २७ गते । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले बारम्बार हुने सरकार परिवर्तन विकासको लागि बाधक हुने बताउनुभएको छ ।

मंगलबार नेपाल प्रेस सोसाइटी भक्तपुरको साक्षात्कार कार्यक्रममा थापाले स्थायी र स्थिर सरकार हुँदा मात्र विकासले गति लिने बताउनुभयो । ‘स्थायित्व भएकै कारण भारतमा विकास सम्भव भएको हो, मोदीले गुजरातलाई विकासको मोडल बनाएपछि नै प्रधानमन्त्री बन्न सफल हुनुभयो’, थापाले भन्नुभयो ।

वाग्मती प्रदेशमा मा बारम्बार सरकार परिवर्तनका खेल चलिरहेकाले जनतामा प्रदेशप्रति नै नकारात्मक सन्देश गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसले प्रदेश सरकारले गरेका राम्रा काम पनि ओझेलमा परेका उहाँको भनाइ छ ।

नेपाली कांग्रेसको आन्तरिक समस्या नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारक भएको उहाँले बताउनुभयो । कांग्रेस भित्र १०/१० महिनामा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र सोही अनुसार बहादुर सिंह लामाको सरकार विस्थापित भई इन्द्रबहादुर बानियाको नेतृत्वमा नयाँ सरकार बनेको उहाँले जानकारी दिनुभयो ।