काठमाडौँ, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
मंगलबार सिंहदरबारमा आयोजित राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तअनुसार भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती रहित सेवा प्रवाह सुनिश्चित गर्नु सरकारको दायित्व भएको स्मरण गराउनुभयो। ‘स्वच्छता, पारदर्शिता र समयमै सेवा प्राप्ति नागरिकको हक हो, यो अधिकार उपलब्ध गराउने विषयमा राज्यका सबै निकाय समान रूपमा सक्रिय हुनुपर्छ, भ्रष्ट आचरण वा पथभ्रष्ट भएका व्यक्तिहरू पदमा रहेर जनताले सम्मान पाउन सक्दैनन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले छानबिन र अनुगमनमा कुनै मोलाहिजा नगर्न स्पष्ट निर्देशन दिनुभयो । ‘देखिएका कमजोरीहरू यस्ता बैठकमै आएर खुलस्त भन्नुस्, मेरो कमजोरी देखिए पनि भन्नुस्, मेरो नाम भजाएर कसैले गलत काम गराउन खोजे भने त्यस्तो काम नगर्नुस्, बरु झपारेर पठाउनुस्’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मातहतका कर्मचारी वा अरूलाई सार्वजनिक रूपमा अपमान हुने गरी कुनै काम नगर्न र आफैँ पनि नैतिकताबाट नझर्न आग्रह गर्नुभयो। उहाँका अनुसार, यसरी मात्र सुशासनको अभियानलाई मजबुत बनाउन सकिन्छ।
संयुक्त राष्ट्रसङ्घको ‘नो वन लेफ्ट बिहाइन्ड’ (कोही पनि पछि नपरोस्) सन्देश उद्धृत गर्दै प्रधानमन्त्री ओलीले मानिसका आधारभूत आवश्यकताको पूर्ति, सम्मानित र सुरक्षित जीवन यापनका लागि दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो। ‘नेपाललाई विकसित मुलुकमा रूपान्तरणका लागि हामीले सुशासनको दृढ सङ्कल्पसहित छिटो–छिटो दौडन आवश्यक छ, अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउने प्रयास भइरहेको छ, त्यसबाट बच्नका लागि जनतालाई ज्ञान र सकारात्मक कार्यतर्फ सचेत बनाउनुपर्छ, पथभ्रष्ट हुनेलाई कानुनको नियन्त्रणमा ल्याउनुपर्छ’, उहाँले भन्नुभयो।
प्रधानमन्त्री ओलीले प्राकृतिक रूपमा उर्वर भूमि र ज्ञानको उद्भव भूमि भएको नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभएको बताउनुभयाे । ‘अब हामीले सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ, देखिएका कमजोरी सुदारका क्रममा सतर्कता केन्द्रले अझ सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु’, भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्