काठमाडौं, साउन २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताउनुभएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताउनुभयो ।
पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइ सकेको उहाँले बताउनुभयो । ‘यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’, उहाँले भन्नुभयो ।
पार्टी विधानमा आफैले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजानु नहुने उहाँको धारणा छ । आफैँले गरेको काममा टिका टिप्पणी गर्नु राम्रो नहुने उहाँले स्पष्ट पार्नुभयो ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिकाे हितका लागि सोचविचार गरेर गरेको उहाँले बताउनुभयो । बाँकी विषयमा महाधिवेशनमा आधार सहित छलफल गर्न सकिने उहाँको भनाइ छ ।
पार्टी भित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नु पर्ने उहाँको धारणा छ । ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको छ, पार्टीलाई बालियो बनाउने सिङ्गो पार्टी एकजुट हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उहाँको धारणा छ । ‘भविष्यको योजना अन्तर्गत पार्टी निर्माण गर्ने योजनामा जानु पर्दछ, लक्ष समाज बदल्ने हो, माध्यम मात्र चुनाव हो’, उहाँले भन्नुभयो ।
यत्रो समय मैले गरेँ अब पार्टीले गर्नुपर्छ भन्ने सोच गलत भएको भन्दै उहाँले त्यसलाई त्याग्नु पर्नेमा जोड दिनुभयो । पार्टीको समृद्ध नेपाल निर्माण गर्ने योजना भएको बताउँदै उहाँले एमालेका सबै ५ लाख सदस्यलाई पार्टीले पद दिन नसकिने स्पष्ट पार्नुभयो । त्यसैले समृद्ध नेपाल निर्माणको लक्ष बोकेर पार्टीका नेता कार्यकर्ता अघि बढ्नु पर्ने उहाँको धारणा छ ।
समाज बदल्नका लागि हिजो जीवन जोखिममा राखेर हिँडेको स्मरण गराउँदै उहाँले अहिले पार्टी भित्र अवसरवाद जन्मिएको उहाँको भनाइ छ । आफूलाई चित्त बुझेन भने सामाजिक सञ्जालमा पार्टी र नेताको विरुद्ध जथाभाबी लेख्ने प्रवृत्ति रोक्न उहाँले निर्देशन दिनुभयो ।
‘कुनै पनि सामाजिक परिवर्तनको लागि एकता र अनुशासन अनिवार्य सर्त हो, समाजलाई बदल्ने तागत नेकपा एमाले बाहेक अरूसँग छैन, एमालेका नेता कार्यकर्ता एक भएर लाग्ने हो भने एमालेको लागि मिसन २०८४ सम्भव छ’, उहाँले भन्नुभयो ।
उहाँले चुनावको बेलामा काम नलाग्ने नेता कार्यकर्ताको कुनै काम नभएको बताउनुभयो । पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागु गर्न सकिने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो ।
अहिले देशमा स्थायित्वको लागि नेपाली कांग्रेससँग मिलेको भए पनि आउने चुनाव दुवै पार्टी एक्ला एक्लै लड्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टीको आफ्नो नीति लागु गर्नका लागि एक्लै चुनाव लडेर बहुमतको सकार बनाइ पार्टीको नीति कार्यान्वयनमा लैजाने पोखरेलले बताउनुभयो ।
उहाँले पार्टीलाई बलियो बनाउन युवाका बिचमा जानु पर्नेमा जोड दिनुभयो । एमाले युवाबाट नै बनेको पार्टी भएकोले यो कुरालाई जगाउन आवश्यक रहेको बताउनुभयो । यसको लागि युवाको बिचमा काम गर्ने योजना बनाउन आवश्यक रहेको पोखरेलले प्रष्ट पार्नुभयो ।
त्यसै आज मतदान केन्द्रमा सबैभन्दा बढी सहभागिता महिलाको हुने भन्दा उहाँले महिलाको बिचमा पार्टीको काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै विदेशमा रहेको युवालाई पार्टीको अवधारण बुझाउन नसक्ने हो भने मत प्रभावित हुन्छ भन्ने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो ।
पार्टी नेतृत्व माथि आक्रमण भइरहेको बेला नेतृत्वलाई जोगाउनु सबैको दायित्व भएको उहाँले बताउनुभयो । अहिले एमाले र त्यसको नेतृत्व विरुद्ध आक्रमण भइरहेकोले सिङ्गो पार्टी पङ्क्तिले एक भएर जोगाउनु पर्ने उहाँको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्