जनता टाइम्स

२७ श्रावण २०८२, मंगलवार १७:१८

नखाएकाे विष लाग्यो भन्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले दिए राजीनामा


काठमाडौं, साउन २७ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ ।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।

राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष पछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाको राजीनामा आएको हो । उहाँलाई कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन निर्देशन दिनुभएको थियो ।

राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताउनुभयो । सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने उहाँको धारणा छ । थाकेका मानिसहरूले काम गर्न सक्दैनन् भन्ने कुरामा आफू स्पष्ट रहेको उहाँको भनाइ छ ।

आफूले गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उहाँले बताउनुभयो । सर्वसम्मत रूपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको उहाँले बताउनुभयो ।

प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको उहाँले जानकारी दिनुभयो । आफूबाट सो त्रुटि नभएको उहाँले विश्वास दिलाउनुभयो । अब यस्ता त्रुटि नहुन् भन्ने म चाहन्छु उहाँले भन्नुभयो ।

निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको उहाँले दोहोर्‍याउनुभयो। तथापि, अन्तिम रूपमा  गहिरिएर नहेर्नु कमजोरी रहेको उहाँले स्विकार्नुभयो । तर यो विधेयक पास गर्ने सांसदहरू पनि त्यतिकै जिम्मेवार रहेको उहाँले बताउनुभयो । कर्मचारीलाई विश्वास गर्दा त्रुटि हुन पुगेको उल्लेख गर्दै उहाँले प्रतिवेदन अगाडि बढेपछि आफूले मात्रै नभएर संसद्का सबै सदस्यले हेरेको उहाँले बताउनुभयो।

खतिवडाले राष्ट्रिय सभामा एमालेका तर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव परेको स्मरण गराउँदै आफू गठबन्धनप्रति अडिग रहेको र राष्ट्रिय सभाबाट दुई वर्षको कुलिङ पिरियड लागू हुने प्रावधानसहित निजामती सेवा विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

राजीनामा दिँदै गर्दा उनले आफू कुटिल राजनीतिको सिकार हुन पुगेको उहाँले बताउनुभयो ।  जो कुलिङ अफ पिरियड चाहिन्छ भनेर लाग्यो उही दोषी देखिने जस्तो देखाउन खोजिएको उहाँले गुनासो गर्नुभयो । ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्छ’, उहाँले भन्नुभयो ।

संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको पनि खतिवडाले दाबी गर्नुभयो । राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको उहाँले बताउनुभयो ।  ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसाहाँसी राजीनामा दिएको घोषणा गर्दछु’, उहाँले भन्नुभयो ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी भएको भन्दै उहाँले पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको उहाँले बताउनुभयो । उहाँले समितिको सभापतिको रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।