काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गर्न आग्रह गर्नु भएको छ ।
भूमि समस्या समाधान योगको वार्षिक समीक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो । पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि उहाँले निर्देशन दिनुभयो । ‘यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन, काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपुर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्ने उहाँको धारणा छ। त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा गरिने उहाँले प्रष्ट पार्नुभयो।
मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जाने उहाँले विश्वास दिलाउनुभयो । ‘हामी टालाटुली बाटुली, कति राम्री पुतली भनेजस्तो गरेर के के भेला पारेर सरकार बनाउने पक्षमा छैनौँ, यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन’, उहाँले भन्नुभयो ।
उहाँले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्