जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १०:०५

दुर्घटनापछि पुनः उडानमा यति एयरलाइन्स, ९ महिनामै ४ अर्बभन्दा बढी व्यापार


काठमाडौं । केही वर्षअघि ठूलो विमान दुर्घटना र आर्थिक चुनौतीसँग जुझेको यति एयरलाइन्स फेरि आन्तरिक आकाशमा आफ्नो उपस्थिति मजबुत बनाउन सफल भएको छ। २०२४–२५ आर्थिक वर्षको पहिलो ९ महिनामै कम्पनीले ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको वार्षिक कारोबारसँग लगभग बराबरी हो।

सन् २०२३ को पोखरा दुर्घटनापछि बजार हिस्सा १७ प्रतिशतमा झरेको यति एयरलाइन्सले २०२४ मा यात्रु संख्यामा वृद्धि गर्दै पुनः २१ प्रतिशत बजार हिस्सा कायम गरेको छ। यात्रु भर्ना दर पनि ७८ प्रतिशतबाट बढेर ८२ प्रतिशत पुगेको छ।

कम्पनीले सन् २०२४ मा दुई नयाँ एटीआर ७२ विमान थपेर कुल ७ विमानमा सेवा विस्तार गरेको छ, जसका लागि करिब १ अर्ब ७० करोड रुपैयाँ लगानी गरिएको हो। हाल २० आन्तरिक मार्गमा उडान भर्ने यतिले अझै पनि काठमाडौं–पोखरा, पोखरा–काठमाडौं, र काठमाडौं–विराटनगरबाट करिब आधा आम्दानी गरिरहेको छ।

नाफा दरमा पनि उल्लेखनीय सुधार भएको छ। सन् २०२५ को पहिलो ९ महिनामा कुल कारोबारको ५.४७ प्रतिशत बराबर नाफा कमाइएको छ, जुन अघिल्लो वर्षको २ प्रतिशतभन्दा धेरै हो। पछिल्ला तीन वर्षमा यात्रु संख्या १४ प्रतिशत र कारोबार २७ प्रतिशतले बढेको छ।

कर्जाको व्यवस्थापनका लागि कम्पनीले हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ र २.७१ करोड अमेरिकी डलर बराबरको ऋणमा क्रेडिट रेटिङ गराएको छ। इनफोमेरिक्स क्रेडिट रेटिङ नेपालले दीर्घकालीन ऋणका लागि ‘ट्रिपल बी माइनस’ र अल्पकालीन सुविधाका लागि ‘ए थ्री’को रेटिङ दिएको छ।

२००२ मा स्थापना भएको यति एयरलाइन्स अहिले पनि बजार हिस्सा अनुसार नेपालको दोस्रो ठूलो आन्तरिक हवाई सेवा प्रदायकका रूपमा रहेको छ।