काठमाडौं, साउन २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा कस्तो परिवर्तन आयो भन्ने कुरा दुनियाँले देखेका बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले यो विषयमा आफूले कुनै उल्लेख गर्न आवश्यक नरहेको बताउनुभयो । ‘विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विश्लेषण गर्न माननीयज्यूहरूलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।
गत महिना प्रतिकूल मौसमका बाबजुद म हुम्ला पुगेको बताउँदै उहाँले सडक सञ्जालले सदरमुकाम जोडिन बाँकी एक मात्र जिल्ला हुम्लाको सिमिकोट त्यस दिनदेखि सडक सञ्जालमा जोडिएको जानकारी दिनुभयो । ‘खार्पुनाथ गाउँपालिकाको चुवाखोलामा बनेको बेलिब्रिज सञ्चालनमा आएपछि कर्णाली कोरिडोरले हाम्रो उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतलाई सडकमार्फत जोड्ने छ, बाँकेपारी भारतको सीमावर्ती क्षेत्र जामुनियाँ र हुम्लाको हिल्सा पारी चीनको सीमावर्ती क्षेत्र यस सडकले जोडिएपछि त्रिदेशीय कनेक्टीभिटी बढाउँछ, त्यो पुल, यही सरकार आएपछि निर्माण थालेर काम सकिएको हो’, उहाँले भन्नुभयो ।
दैलेखको ग्यास उत्खननको कुरा गर्दा गाली गर्ने प्रति आफ्नो कुनै गुनासो नभएको ओलीले बताउनुभयो । ‘मलाई सम्झना छ– नेपाललाई चाहिने इन्धन दैलेखको भूगर्भभित्र छ, त्यसलाई उत्खनन् गर्छु भन्दा गालीको वर्षा भएको र सामाजिक सञ्जालमा ट्रोल गरिएको, काम गर्छु भन्दा, नयाँ परिणाम ल्याउँछु भन्दा पाएका गालीप्रति मलाई कुनै गुनासो छैन तर, खुसीको कुरा दैलेखमा ११२ अर्ब घनमीटर ग्यास फेला परेको छ र एक वर्षभित्र त्यसको उत्पादन गर्ने गरी सरकार लागेको छ, यसले इन्धनमा आत्मनिर्भरता बढाउने र विदेश जाने मुद्रालाई नेपालमै रोक्ने काम गर्ने छ’, उहाँले भन्नुभयो ।
नवलपरासीको धौवादीमा नेपाललाई एक सय वर्ष पुग्ने फलाम खानी फेला परेको मात्र नभई त्यसको उत्खनन् गर्न कम्पनी निर्माण गरी काम अघि बढाइको उहाँले जानकारी दिनुभयो । ‘आजको भोलि नै नहोला, तर नेपालको आत्मनिर्भरता तर्फको यात्रामा यसले ठुलो अर्थ राख्छ र यसको व्यावसायिक उत्पादन विसं २०८५ भित्रै सुरु गर्ने लक्ष्य रहेको छ, धौवादीमा फलाम खानी छ भन्दा विगतमा पाएको गालीगलौज त मैले बिर्सिसकेको छु ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्