काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लगातार दुई वर्षसम्म आइसिसी डिजिटल फ्यान इन्गेज्मेन्ट अवार्ड पाएबाट नेपाली युवाहरू कति क्रिकेट प्रेमी छन् भन्ने देखाएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले युवाहरूको त्यही चाहना बुझेर आफू नेतृत्वको वर्तमान सरकारको पहिलो क्याबिनेट बैठकले कीर्तिपुरको क्रिकेट रङ्गशालामा प्यारापिट बनाउने र फ्लडलाइट जोड्ने निर्णय गरेको बताउनुभयो । ‘त्यो काम अहिले अन्तिम चरणमा पुगेको छ, देशैभर क्रिकेट लगायत अन्य खेलकुद संरचनाहरू बनिरहेका छन्’, उहाँले भन्नुभयो ।
निर्माणका क्रममा प्रक्रियावादले दिएको झण्झट, अवरोधका गलत मनसायसहित हालिएको मुद्दा र अनपेक्षित मौसमको प्रतिकूलताका बाबजुद कीर्तिपुरको क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । ‘प्यारापिट बन्यो ? ‘फ्लडलाइट जोडियो ? भन्ने जस्ता प्रश्न गर्ने साथीहरूलाई एक पटक संसदीय समितिका केही माननीय सदस्यहरूले अवलोकन भ्रमण गरे झैँ कीर्तिपुर रङ्गशालाको अवलोकन–भ्रमणका लागि सिफारिस गर्छु, यस पटक, प्यारापिट निर्माण र फ्लडलाइट फिट गर्ने काम सकिएपछि अत्याधुनिक रङ्गशाला निर्माणको दोस्रो चरणको काम थालिने छ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्